‘चुच्चे नक्सा’को विरोधमा उत्रिएकि सांसद गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : ३६


काठमाडौं । समाजवादकी सांसद सरिता गिरीलाई सांसद र पार्टीबाट कारबाही गर्न सिफारिस गरिएको छ ।

समाजवादी पार्टीले गठन गरेको कार्यदलले गिरीलाई कारवाही गर्न सिफारिस गरेको छ । पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् ।

उनी ह्वीप उल्लंघन गर्दै संसद बैठकबाट बाहिरिएकी थिइन् र त्यसक्रममा उनले संविधान संशोधनको विरोध गरेकी थिइन् । महत्वपूर्ण विषयमा निर्णय गर्नकालागि पार्टी ह्वीप अस्वीकार गरेपछि पार्टी नेतासहित सर्वसाधारणले समेत उनको आलोचना गरेका थिए ।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन्।

उनी बाहिरिएसँगै यसबारे सामाजवादी पार्टीले तीन सदस्यीय कार्यदल बनाएको थियो ।

रामसहायप्रसाद यादवको संयोजकत्वमा बनाइएको कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।

कार्यदलको सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधिकारी बैठक मंगलबार दिउँसो बस्दैछ।।


प्रतिक्रिया दिनुहोस्