चिनियाँ राजदूतले नेपालको राजनीतिमा हस्तक्षेप गरेको भन्दै भारतीय मिडियामा चर्को आलोचना

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : ३१


काठमाडौं । सत्तारुढ दल नेकपामा विवाद चर्किएपछि नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले नेताहरुसँगको भेटवार्ता बाक्क्लो बनाएकी छिन् ।

आइतबार नेकपाका विदेश विभाग प्रमुख माधव नेपालसँग भेटवार्ता गरेकी उनले मंगलबार अर्का नेता झलनाथ खनालसँग छलफल गरेकी छिन् ।

नेकपा विभाजन तर्फ उन्मुख भइरहेको समयमा याङ्छीको सक्रियतालाई लिएर सामाजिक सञ्जालहरु चर्चा भइरहेको बेला भारतीय सञ्चारमाध्यमहरुमा पनि यसले प्राथमिकता पाएको छ ।

नेपालको सरकार र सत्तारुढ दल नेकपाको चीन प्रतिको झुकाव बढेको र चिनियाँ राजदूत याङ्छीले अनावश्यक सक्रियता जनाएको भन्दै भारतीय सञ्चारमाध्यमले उनको आलोचना गरेका हुन् ।

नेता नेपाल र खनालसँग भेटवार्ता हुनुअघि राजदूत याङ्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँसँगको सल्लाहमा संसदको चालू अधिवेशन अन्त्य गरेको समाचार भारतीय अनलाई आजतकमा प्रकाशन भएको छ ।

चिनियाँ राजदूतको सक्रियताको विरोध नेपालमा भइरहेको भन्दै समाचारमा आन्तरिक मामलामा चिनियाँ राजदूतले किन हस्तक्षेप गरिरहेकी छिन् भन्दै प्रश्न गरिएको छ ।

समाचारमा याङ्छीले नेता नेपाल र खनालसँगको भेटमा संयमता अपनाउन र पार्टीमा मिलेर अघि बढ्न सुझाव दिएको उल्लेख गरिएको छ ।

नेता नेपाल र खनाललाई भेट्नु अघि याङ्छीले नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डसँग पनि भेटवार्ता गरिसकेको समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्