भारतीय मिडियाले भने, संकटमा परेका प्रधानमन्त्री ओलीले सीमाबाट सेना हटाए

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : ३४


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तिब्र विवाद भइरहेको बेला त्यसको फाइदा भारतीय मिडियाले उठाइरहेका छन्।

हरेक पटक नेपाललाई होच्याएर समाचार लेख्ने भारतीय मिडियाले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो पत्ता ढाल्न खोजेको अभिव्यक्ति दिएयता विभिन्न शीर्षकमा समाचार प्रकाशन गरिरहेका छन्।

पछिल्लो पटक भने संकटमा परेका प्रधानमन्त्री ओलीले भारतीय सीमा क्षेत्र उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला सीमा क्षेत्रमा स्थापित सशस्त्र प्रहरी बलका ६ नयाँ चौकी मध्ये २ चौकी हटाएको उल्लेख गरेका छन्।

भारती विरोधी अभिव्यक्ति दिएका कारण निशानामा आएका ओलीले आफ्नो बचाउनका लागि पार्टीका नेताविरुद्ध संघर्ष गरिरहेको पनि उल्लेख गरेका छन्।

भारतीय मिडिया आजतकले लेखेको छ, उत्तराखण्डमा नेपाल सरकारले दुई चौकी हटाउने फैसलालाई राजनीतिक संकटसँग जोडिएर हेरिएको छ। नेपाल भारतबीच सीमा विवाद बढ्दै गएपनि नेपालले यो क्षेत्रमा ६ महिनायता ६ वटा चौकी स्थापना गरेको थियो।

धारचूलाका उप विभागीय मजिस्ट्रेट अनिल कुमार शुक्लाले दुई चौकी हटाएको पुष्टि गरेको पनि समाचारमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्