नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : ०८


काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद चुलिएको बेलामा चिनियाँ सक्रियता बढेको छ ।

केही दिनयता नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा नेता माधव कुममार नेपाल लगायतका नेताबीचको विवादले उग्ररुप लिँदा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले सक्रियता बढाएकी हुन् ।

आइतबार साँझ नेता माधव कुमार नेपालसँग करिब १ घन्टा लामो छलफल गरेकी उनले मंगलबार अर्का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी हुन् ।

खनालसँगको भेटका लागि याङ्छी डल्लुस्थित नेता खनालको निवासमा पुगेकी थिइन् । उनी करिब ४५ मिनेट खनालसँगको भेटवार्ता पछि बहिरिएकी हुन् ।

नेकपाभित्र सत्ता र शक्ति संघर्ष जारी रहेको बेलामा उत्तरी छिमेकी चिनियाँ कुटनीतिज्ञको सक्रियतालाई राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि गत वैशाखमा पनि नेकपाका नेताहरुबीचको विवाद उत्कर्षमा पुगेको समयमा चिनियाँ राजदूत याङ्छीले आफ्नो सक्रियतालाई बढाएकी थिइन् ।

उनको सक्रियतासँगै नेकपा भित्रको विवाद मत्थर भएको थियो । अहिले नेकपामा विवाद पार्टी फुटसम्म पुग्ने चर्चाका बीच उनको सक्रियताले पार्टीलाई फुटबाट जोगाउन सहयोग पुग्ने नेकपाका नेता कार्यकर्ताको विश्वास रहेको छ ।

आलोचना

नेपालको आन्तरिक राजनीतिमा विदेशीको हस्तक्षेप हुने गरेको भन्दै विरोध हुने गरेको छ ।

जनस्तरमा नेपाली राजनीति र सत्ता समिकरण मात्र नभइ दलहरुमा पनि छिमेकीको प्रभाव रहने भन्दै नेताहरुको आलोचना हुने गरेको समयमा याङ्छीको सक्रियताले यस भनाइमा थप बल मिलेको छ ।

राजनीतिक विश्लेषकहरुले पनि नेपालको आन्तरिक र दलगत राजनीतिमा विदेशीको सक्रियता राम्रो नभएको. बताए ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राजदूत नेताको घर–घरमा खुला रुपमा गएर भेट्नुले कूटनीतिक मान्यता नै नरहेको जस्तो देखिने बताउँछन् ।

आचार्य अहिले नेपालमा दुई तिहाईको सरकार रहेको तर पार्टीको आन्तरिक विवादलाई बढाएर शीर्ष नेताहरु नै बाह्य शक्ति बोलाउन उद्यत हुनु गलत भएको बताउँछन् । ‘आफू–आफू मिल्नु छैन । पार्टीका शीर्ष नेताहरु नै विदेशीलाई खुला रुपमा हस्तक्षेप गर्न निम्त्याइरहेका छन्,’ उनले भने ।

नेपालमा सन् २०१५ मा नयाँ संविधान जारी गर्नु अघि भारतीय राजदूत यसरी नै विभिन्न पार्टीका नेताहरुको घर–घरमै गएर भेटवार्ता गर्ने गर्थें । अहिले उक्त शैलीलाई नेपालस्थित चिनियाँ राजदूतले पछ्याएका छन् ।

तर चिनियाँ पक्षले भने राजदूत होउ र नेकपा नेताबीचको नियमित भेटघाट भएको बताएका छन् ।

भारतीय चासो

यसैबीच याङ्छीको सक्रियतालाई लिएर भारतीय पक्षले चासो देखाएको छ ।

भारतीय सञ्चार माध्यमहरुले नेपालका लागि चिनियाँ राजदूतको सक्रियतालाई प्राथमिकता दिइरहेका छन् ।

यसलाई उनीहरुले नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीन प्रतिको झुकावको रुपमा व्याख्या गरिएको छ । केही भारतीय सञ्चारमाध्यमले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन आउनाका पछाडि राजदूत होउको सक्रियतालाई ठानेका छन् ।

भारतीय हिन्दी दैनिक अमर उज्यालाले भारतको छिमेकी देश नेपालसँग सम्बन्ध बिग्रनुमा राजनीतिक कारणका साथै चीनको कूटनीति पनि जिम्मेवार रहेको र त्यसका लागि राजदूत होउको भूमिका रहेको दाबी गरेको छ । पत्रिकाले राजदूत होउ फेसबुक ट्वीटर र इन्स्टाग्राममार्फत पनि नेपालहरूमाझ लोकप्रिय बनेको उल्लेख गरेको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईले पनि राजदूत होउले फेरि एकपटक नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गरेको छ । एजेन्सीले राजदूत होउ र नेपालबीचको भेटघाटपछि नै जारी स्थायी समितिको बैठक बुधबारका लागि सारिएको दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्