आत्मघाती गोलबाट बिजयी बनेको टोटनह्यामका दुई खेलाडीबीच मैदानमै झडप

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ३३


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गर्दै टोटनह्याम विजयी भएको छ।

घरेलु मैदानमा गएराति भएको खेलमा टोटनह्यामले एभर्टनलाई १–० गोलले पराजित गरेको हो। २४ औँ मिनेटमा एभर्टनका माइकल किनले गरेको आत्मघाती गोल नै टोटनह्यामको जितमा निर्णायक बन्यो।

आत्मघातीबाट विजयी बनेको टोटनह्यामका कप्तान हुगो लोरिस र स्ट्राइकर सन हेङ–मिनबिच मैदानमै हात हालाहालको अवस्था आएको थियो। खेलको मध्यान्तरमा मैदानबाट बाहिरिने क्रममा लोरिसले सनलाई पछाडिबाट धकेलेका थिए।

दुई खेलाडीबीच विवाद भएपछि टिमका अरु खेलाडीले दुबैलाई छुट्याएका थिए । तर दुबै खेलाडीले आफ्ना मतभेदहरुलाई पाखा लगाएर खेलको अन्तिममा मैदानबाट बाहिरिने बेला अंकमाल गरेका थिए।

जितपछि ३३ खेलबाट ४८ अंक बनाएको टोटनह्याम ८ औँ स्थानमा उक्लिएको छ। पराजित भएको एभर्टन ४४ अंकसहित ११ औँ स्थानमा कायम छ।


प्रतिक्रिया दिनुहोस्