१४ औँ महाधिवेशन फागुनमै गर्ने काँग्रेस केन्द्रीय समितिको निर्णय

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : २६


काठमाडौँ । नेपाली काँगेसले १४ औँ महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले १४ औँ महाधिवेशन तय भएकै मिति फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो।

कोरोना महामारीले क्रियाशील सदस्यता वितरण, नविकरण र संघीय संरचनाअनुसार समायोजनका काम फागुन अन्तिम सातादेखि रोकिए पनि अधिवेशन भने तोकिएकै मितिमा सम्पन्न गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको पार्टीका एक नेताले बताए। बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले कोरोना महामारीकै बीच अब बाँकी रहेका करिब ३० जिल्लामा समायोजनका काम, क्रियाशील सदस्यता वितरण तथा नविकरणका काम सुरू गर्न लागेको हो।

सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत फागुनमै सकिएको भएपछि विधानकै व्यवस्थाअनुसार उनको कार्यकाल थप एक वर्ष थपिएको थियो।

परिमार्जित तालिका

केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
गाउँ /नगर, वडा अधिवेशन ०७७ पुस ६ गते
गाउँ/नगरपालिका अधिवेशन ०७७ पुस ८ गते
प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
जिल्लाका अधिवेशन ०७७ पुस १३
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
प्रदेश अधिवेशन माघ ६ गते


प्रतिक्रिया दिनुहोस्