कैलालीको लम्कीमा ओली र प्रचण्ड पक्षीय कार्यकर्ताबीच झडप

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : ००


कैलाली । कैलालीको लम्की बजारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताबीच नै झडप भएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षीय कार्यकर्ताबीच झडप भएको हो ।

सोमबार दिउँसो केपी ओली पक्षधर कार्यकर्ताहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको समर्थनमा र्‍याली आयोजना गरेका थिए ।

लम्की बजारमा पुगेर कोण सभामा परिणत भएको र्‍यालीमा बोल्ने ओली पक्षीय कार्यकर्ताहरुले अर्का अध्यक्ष प्रचण्डको आलोचना गरेपछि प्रचण्ड पक्षीय कार्यकर्ताहरु प्रतिकारमा उत्रिएका थिए ।

‘ओली पक्षधरहरुले प्रचण्डको विगत के हो, उनी कस्ता हुन् भनेर आलोचना गर्न थालेपछि प्रचण्ड पक्षीय कार्यकर्ताहरुले नेताहरुको नामै तोकेर भाषण नगर्न भनेका थिए । त्यसपछि ओली पक्षका कार्यकर्ताहरु आक्रमणमा उत्रिए,’ एक प्रत्यक्षदर्शीले दैनिक अनलाइनसँग भने ।

दुवै पक्षका कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेर कोण सभा स्थगित गरेको छ । दुवै पक्षका कार्यकर्ताबीच पुनः झडप हुने सम्भावना बढेपछि अहिले लम्की बजारमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरिक विवाद बढ्दै जाँदा कार्यकर्ताहरु समेत एक–अर्काको चर्को आलोचना र आरोप प्रत्यारोपमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस्