अब एक जनाले दुई वटा मात्र सिमकार्ड लिन पाउने

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ५१


तपाईको नाममा कतिवटा सिमकार्ड निकाल्नु भएको छ ? धेरैवटा निकाल्नु भएको छ र पुन निकाल्ने विचार गरिरहनु भएको छ भने ख्याल गर्नुहोला ।

अब एक मोबाइल सेवा प्रदायकको सिम २ वटासम्म मात्र प्रयोग गर्न पाइने भएको छ । एक उपभोक्ताले कुनै पनि सेवा प्रदायकबाट आफ्नो नाममा २ भन्दा धेरै सिमकार्ड प्रयोग गर्न नपाइने भएको हो।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले असार ११ गते उक्त निर्णय गर्दै सेवा प्रदायकलाई निर्देशन दिइसकेको छ।

‘एक सेवा प्रदायकले एक व्यक्तिको नाममा दुईवटा सिम वा रिम कार्ड दिन सक्नेछन’, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘सबै सेवा प्रदायकलाई यो निर्देशन जारी भइसकेको छ।’

त्यस्तै, नाबालिगले अभिभावकको अनुमतिमा एउटा मात्र सिम आफ्नो नाममा झिक्न पाउनेछन्।

सीडीएमएजस्ता अन्य सेवा पनि प्रयोग गरिरहेको नेपाल टेलिकमको हकमा भने एकै व्यक्तिको नाममा ३ वटा सिम वा रिम प्रयोग गर्न पाइने अर्यालले बताए।

एउटै व्यक्तिको नाममा धेरै सिम प्रयोग हुँदा दुरुपयोग हुनसक्ने, आपराधिक क्रियाकलापमा प्रयोग हुनसक्ने र सुरक्षाको खतरा हुनसक्ने भएकाले यो निर्णय गरिएको हो।

साथै, एक जनाको नामको सिम अरुले प्रयोग गर्दा गोपनीयता बाहिरिनसक्ने सम्भावना रहन्छ। यो अन्तर्राष्ट्रिय अभ्यास समेत रहेको अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस्