हावाबाट कोरोना भाइरस फैलिने वैज्ञानिककाे दाबी, डब्लूएचओ भन्छ: प्रमाण छैन

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ४६


काठमाडाैं । वैज्ञानिकहरूले हावाबाट पनि कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने दाबी गरेका छन् । उनीहरूले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेका हुन् ।

कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरूले यसबारे डब्लूएचओलाई खुला पत्र पठाएर हावाबाट कोरोना फैलिएको हुनसक्ने भन्दै निर्देशिका परिवर्तन गर्न माग गरेको हुन् ।

उनीहरूले उक्त पत्रमा आफूले फेला पारेका प्रमाणहरू समेत उल्लेख गरेका छन् । ती वैज्ञानिकहरू आफ्नो अनुसन्धान चाँडै एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने योजनामा भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

डब्लूएचओका अनुसार कोरोना भाइरस सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्छ।
२९ जूनमा अद्यावधिक गरिएको जानकारीमा उसले पाँच माइक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने जनाएको छ।

न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरूले हाछ्यूँ गर्दा निस्किने साना वा ठूला ड्र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फैलिनसक्ने भएकाले कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने दाबी गरेका छन् ।

तर डब्लूएचओले यो कुरा पुष्टि गर्न अहिले उपलब्ध प्रमाणहरू पर्याप्त नभएको जनाएको छ । विश्व स्वास्थ्य संगठनको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्ने विभागकी प्रमुख प्राविधिक डा.बेनेडेटा अलेन्ग्रान्जीले हावाको माध्यमबाट फैलिन सक्ने सम्भावनाबारे आफूहरूले विगत दुई महिनादेखि विचार गरेको बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्