भुलेर पनि गुगलमा नखोज्नुस् यी कुरा

प्रकाशित मिति : असार २२, २०७७ सोमबार


सूचना र प्रविधिको प्रयोग विश्वमा तिव्र गतिमा वृद्धि भएको छ । कम्प्युटर, ल्यापटप, स्मार्टफोनमा इन्टरनेटका माध्यमबाट आफूलाई आवश्यक परेको सूचना र जानकारी तथा विभिन्न सेवा लिनेको संख्या दिननुदिन बढ्दै गएको छ ।

इन्टरनेटका माध्यमबाट गरिने कारोवार र व्यवसायमा वृद्धिभएको छ । वैंकिङ प्रणालीहरुसमेत इन्टरनेटका माध्यमबाट सञ्चालन भइरहेका छन् । त्यसैले विद्युतीय सामाग्रीलाई इन्टरनेटको प्रयोगले गर्दा थप प्रभावकारी बनाउँदै लगेको छ ।

नयाँ पुस्ता इन्टरनेटमा बढी नै अभ्यस्त भएको छ । केही कुराबारे जानकारी वा आवश्यकता परे आजभोली इन्टरनेटको माध्यमबाट सर्च इन्जिनहरुको प्रयोग गर्दै खोजी हुने गरेको छ ।

त्यसका लागि सबैभन्दा बढी प्रयोग हुने गुगल हो । साना देखि महत्वपूर्ण विषय वा जानकारीका लागि गुगलमा सर्च गर्ने गरिन्छ । तर सुरक्षित रुपमा इन्टरनेटको वा सर्च इन्जिनको प्रयोग नगर्न कहिलेकाही व्यक्तिगत विवरण नै अरुको हात लाग्ने खतरा रहन्छ ।

त्यस्तै ह्याकरहरुले पनि तपाईको डाटा चोरी गरी तपाईलाई आर्थिक वा मानसिक तनाव दिन सक्ने सम्भावना हुन जान्छ । त्यसैले गुगलमा सर्च गर्दा तपाईले केही कुरामा ध्यान दिन जरुरी हुन्छ ।

त्यसैले गुगलमा खाजिने सामाग्रीमा विशेष सावधानी अपनाउनु पर्ने र वास्तविक आधिकारिक जानकारी हो कि होइन भन्ने यकिन गर्न जरुरी हुन्छ । एउटै विषयमा गुगलले हजारौँ साइटबारे सूचना दिन सक्छ ।

यस्तो अवस्थामा तपाईंले यी १० कुरामा ध्यान दिन आवश्यक हुन्छ । जुन गुगलमा खोज्नुभन्दा सम्बन्धित साइट नै खोलेर हेर्न इन्टरनेट सुरक्षाविदहरुले सुझाव दिएका छन् ।

१ . मोबाइल एप्स र सफ्टवेयर

यदि तपाईं आफ्नो स्मार्टफोनका लागि कुनै पनि एप्स वा सफ्टवेयर गुगलमा सर्च गरेर डाउनलोड गर्नुहुन्छ भने यस्तो नगर्नुहोस् । सधैँ गुगल प्ले स्टोर या एप्पल एप स्टोरबाट मात्रै अपडेट गर्नुहोस् । गुगलमा सर्च गरेर भेटिने एप्सहरुमा मालवेयर अर्थात भाइरस हुन सक्छन् ।

२. अनलाईन बैकिङ वेबसाइट

यदि तपाईलाई आफ्नो बैंकको वेबसाइट थाहा छ भने गुगलमा अनलाईन बैंकको युआरएल अर्थात वेभ एड्रेस सर्च नगर्न सुझाव दिइन्छ । कतिपय अवस्थामा स्क्यामर (इन्टरनेटमा ठगी गर्नेहरु) ले बैंकको जस्तै मिल्दोजुल्दो वेभसाइट बनाएका हुन्छन् ।

यसको ठेगाना र लुक्समा केही मात्र फरक हुन्छ । कतिपय बेला यस्तो नक्कली साइटमा युजरहरुले आफ्ना संवेदनशील सूचना टाइट गर्छन् । त्यसबेला उनीहरु धोकाधडीको शिकार बन्ने गर्दछन् ।

३. स्टक मार्केट या लगानीसँग जोडिएका सल्लाह

स्टक मार्केट या लगानीमा सही सूचना पाइएन भने यसले दीर्घकालिन घाटा हुनसक्छ । त्यसैले यसबारेमा जानकारी लिन गुगलभन्दा विश्वसनीय साइटमा नै जानु राम्रो हुन्छ ।

गुगलमा आउने सूचनाका आधारमा कुनै कम्पनीका बारेमा राय बनाउनु राम्रो हुँदैन । लगानीका बारेमा विज्ञको सल्लाह लिनु राम्रो हुन्छ । तर गुगलमा आउने सूचनाका आधारमा लगानी गर्दा जोखिमपूर्ण हुनसक्छ ।

 ४. कस्टमर केयर नम्बर

फ्रड र स्क्याम गर्नेहरुले गुगलमा कम्पनीहरुका नक्कली कस्टमर केयर नम्बर र वेब साइट देखाउने गर्दछन् । कतिपय घटनामा गुगलमा कस्टमर केयर नम्बर सर्च गरेपछि फोनमा युजर्सलाई यस्ता ठगहरुले ठगेका छन् ।

कुनै पनि कम्पनीको कस्टमर केयर नम्बर गुगलबाट खोज्नुको साटो सोझै उक्त कम्पनीको वेब पेजमा या फोनबाट कस्टमर केयरसँग सम्पर्क गर्नुपर्दछ ।

५. औषधी र रोगको लक्षण

सामान्य स्वास्थ्य जानकारीका लागि गुगलमा खोज्नु राम्रै भएपनि कुनै बिरामीका लक्षणहरुका आधारमा के भएको भनेर खोज्ने काम गर्नु हुँदैन । लक्षणका आधारमा औषधी खोज्ने काम पनि गर्नु हुँदैन ।

कहिले पनि रोगको लक्षण र औषधीका लागि गुगलमा भर नपर्नुहोला । कुनै पनि यस्तो अवस्थामा डाक्टरलाई सम्पर्क गर्नुपर्दछ । रोगको तत्काल देखिएको लक्षणका आधारमा गुगलमा भेटिने औषधी सेवन गर्नु प्राणघातक पनि हुन सक्छ ।

६. केही सरकारी वेबसाइटको जानकारी

बैंकिङ वेबसाइट जस्तै कर तिर्ने या ग्यास बुक गर्ने या यस्तै प्रकृतिका केही सरकारी साइट भने अट्याकर्सको निशानामा हुन्छन् ।

नेपालमा अहिले यस्तो समस्या नदेखिए पनि समयक्रमसँगै ह्याकरहरुले यस्तो गनर्लान भन्न सकिन्न । सोझै ठेगाना टाइप गरेर आधिकारिक साइटमा जानु राम्रो हुन्छ ।

७. सामाजिक सञ्जालका साइट

सामाजिक सञ्जालमा लग इन गर्नु छ भने सोझै त्यो साइट नै खोलेर लग इन गर्नुहोस् ।

कहिले पनि गुगलमा सर्च गरेर उक्त साइटमा गएर लग इन नगर्नुहोस् । गुगलमा लग इन डिटेल्स राख्नु फिसिङ अट्याकमा पर्ने सम्भावना बढाउँछ । तपाईंको पासवर्ड र अरु डिटेल्स ह्याकर या स्क्यामर कहाँ पुग्न सक्छ ।

८. डिस्काउण्ट कुपन कोड

यदि सपिङ साइट या ऐपमा तपाईंले डिस्काउण्ड कुपन कोड पाइरहनु भएको छ भने त्यो राम्रो हो । तर यस्तो कोड खोज्न गुगलको सहायता लिनु घातक हुन सक्छ ।

दर्जनौँ नक्कली साइटहरुमा तपाईंले यस्ता नक्कली कुपन कोडहरु पाइन सक्नु हुनेछ । यसबाट तपाईंको बैंकसम्बन्धी सम्पूर्ण जानकारी स्क्यामर कहाँ पुग्न सक्छ ।

९. इ-कमर्स वेबसाइट

गुगलमा सपिङका लागि इ-कमर्स वेबसाइट पनि सर्च गर्नु हुँदैन । कतिपय नक्कली डिस्काउण्ट अफर देखाउने दर्जनौँ वेबसाइट रहेका हुन्छन् । यिनीहरुको उद्देश्य तपाईंलाई ठग्नु हो ।

त्यसैले विश्वसनीय इ कमर्स साइटमा मात्रै किनमेल गर्नु राम्रो हुन्छ । कतिपय मानिस सस्तो अफर देखेर ठगिएका उदाहरण थुप्रै छन् ।

१०. फ्रि एन्टिभाइरस या सफ्टवेयर

इन्टरनेटका केही साइटहरुले आधिकारिक र सही प्रकारका यस्ता सफ्टवेयर डाउनलोड गर्ने सुविधा दिएका हुन्छन् । तर गुगलमा खोजेर कुनै पनि नचिनेको एन्टिभाइरस या सफ्टवेयर इन्स्टल नगर्नुहोला । कतिपय यस्ता सफ्टवेयर आफैमा भाइरस हुन सक्छन् ।

कतिपयले सिस्टमलाई ध्वस्त पार्न सक्छन् । सक्कली र नक्कली सफ्टवेयरमा फरक छुट्याउनु पनि कठिन काम हो ।

त्यसैले सतर्क रहनुहोला । जे समस्या हल गर्न सफ्टवेयर खोजिएको हो, त्यही समस्या बढाउने सफ्टवेयर कतिपयले राखेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्