ओली-प्रचण्डको ‘वान टु वान’ वार्ता सकियो

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : २२


काठमाडौं । पार्टीमा देखिएको विवाद समाधानका लागि बसेको नेकपा अध्यक्षद्वयको बैठक सकिएको छ । दुई अध्यक्षबीच भएको एक्ला एक्लै वार्ता सकिएसँगै प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।

दुई अध्यक्षबीच सहमतिको प्रयत्न गर्ने भन्दै बुधबारसम्मलाई नेकपाको स्थायी समिति बैठक स्थगित गरिएको छ । दुई अध्यक्षबीच आजको बैठक सकारात्मक भएको स्रोतको दाबी छ । दुई अध्यक्षबीच गम्भीर ढंगले छलफल गर्ने सहमति भएको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले कार्यदल बनाएर नभइ दुई अध्यक्ष बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएको स्रोतको भनाइ छ ।

उनले दोस्रो तहका नेता भन्दा पनि आवश्यक परे वरिष्ठ नेताहरुसँग छलफल गरेर समस्या समाधान गरी अअघि बढ्नुपर्ने बताएका थिए ।

यसअघि आइतबार दुई अध्यक्षले अनौपचारिक कार्यदललाई काम गर्ने र सहमतिको खाका बनाउने जिम्मेवारी दिएका थिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै छोड्नुपर्ने अडान प्रचण्ड नेपाल समूहले राख्दै आएको छ भने ओलीले आफू दुवै पदबाट नहट्ने अडानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्