चिनियाँ राजदूतको सक्रियतापछि सामाजिक सञ्जालमा प्रश्न- नेपाली नेताहरु छिमेकी नभइ मिल्न सक्दैनन् ?

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ३२


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा विवाद उग्र हुँदै जाँदा नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ ।

नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहँदा चिनियाँ राजदूत होउ याङ्छीले सक्रियता देखाएकी हुन् ।

यसअघि पनि नेकपामा समस्या पर्दा याङ्छी सक्रिय बन्ने गरेकी थिइन् । त्यस बेला उनको सक्रियतासँग नेकपा भित्रको विवाद समसुम हुने गरेको थियो ।

यसपटक पनि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको समयमा चिनियाँ राजदूत याङ्छीको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीको जिम्मेबारीबाट विदा हुनुपर्ने अडानमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालसहित नेताहरु रहेको समयमा राजदूत याङ्छी सक्रिय बनेकी हुन् ।

फाइल तस्वीर

नेकपाका विदेश विभागका प्रमुख समेत रहेका नेता नेपालसँग हिजो साँझ निवासमै पुगेर राजदूत याङ्छीले भेटवार्ता गरेकी थिइन् । त्यसक्रममा उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेकी थिइन् ।

नेकपामा विवाद चर्किएको बेलामा याङ्छीको राजनीतिक सक्रियताको चर्चा यतिबेला सामाजिक सञ्जालमा भाइरहेको छ ।

कतिपयले यसलाई भारतीय सक्रियतासँग पनि जोडेका छन् ।

भारतीय नेताहरु नेपालमा सक्रिय हुँदा नेपाली राजनीतिमा भारतको हस्तक्षेप देख्नेहरुले चीनको सक्रियतालाई नजरअन्दाज गरेको सामाजिक सञ्जालमा चर्चा रहेको छ ।

राजदूत याङ्छीको सक्रियतालाई कतिपयले नेपालका राजनीतिक दलभित्र विदेशीको हस्तक्षेपको रुपमा हरेको छन् भने कतिपयले स्वभाविक ।

विशेषगरि प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कार्यकर्ताले राजदूत याङ्छीको सक्रियतालाई विदेशी हस्तक्षेपको रुपमा चर्चा गरिरहेका छन् ।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले राजदूत याङ्छीको सक्रियतालाई फेबिकोलको संज्ञा दिएका छन् । उनले ट्‍विट गर्दै भनेका छन्, “कसो नटाँसिएला त ? फेबिकोल नै लाएपछि ! हौ कान्छी !!”

त्यस्तै नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले नेपालका राजनीतिक दल र नेता आफैं मिल्न सक्दैनन् भन्दै प्रश्‍न गरेका छन् ।

उनले नेपाली नेताहरु छिमेकी नभइ मिल्न सक्दैनन् भन्दै प्रश्न गरेका हुन् ।

चिनियाँ राजदूत याङ्छी नेकपाको विवाद मिलाइदिन सक्रिय भएको तर्फ संकेत गर्दै उनले ट्‍विट गरेका छन्, “के हाम्रा पार्टी र नेताहरु यति नालायक छन् कि हाम्रा छिमेकीहरुले तिनलाई कहिले मिलाइदिनुपर्ने र कहिले फुटाइदिनुपर्ने ? हाम्रा दल र नेताको आफ्नो बुद्धिविवेक छैन ?”

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले याङ्छी सक्रियतालाई विदेशी हस्तक्षेप भनेका छन् । उनले ट्‍विटमार्फत टिप्पणी गरेका छन्, “कांग्रेसको वर्तमान रोडम्याप कांग्रेसकै महाधिवेशन हो । कांग्रेसलाई देखाएर नेकपाका नेताहरुले आपसी झगडा बल्झाउने र एकले अर्कोलाई तर्साउने नगरे हुन्छ। सकेसम्म आफैं मिल्नुस् । नसके चिनियाँ राजदूतको दौडधूप त चलेकै देख्छु। चिनियाँ राजदूतको हस्तक्षेपले कामरेडहरुको राष्ट्रियता त दुख्दैन होला नि !”


प्रतिक्रिया दिनुहोस्