आँप खुवाउने भन्दै बारीमा लगेर बालिकाको बलात्कार, हत्या गरेर नदीमा फाले शव

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : १०


जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–२१ की ११ वर्षीया बालिकाको बलात्कार पछि हत्यामा भारतीय नागरिकको संलग्नता रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भारतीय राज्य उत्तर प्रदेशको कोकोरी ग्राम पञ्चायत–११ घर भएका ३२ वर्षीय दिपु सिंहले ११ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरेका हुन् ।

जनकपुर उपमहानगरपालिका–२१ का विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियार असार १७ गते भैंसी चराउन भन्दै घरबाट निस्किएकी थिइन् । त्यसको २ दिन पछि दूधमति नदीको किनारमा अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो ।

प्रहरीले उनको हत्या आशंकामा अनुसन्धान शुरु गरेको थियो । कञ्चनको हत्या आशंकामा २० जनालाई नियन्त्रणमा लिइएकोमा भारतीय नागरिक सिंहले बलात्कार पछि हत्या गरेको खुलेको हो ।

प्रहरीका अनुसार भारतबाट आँप टिप्ने काम गर्नका लागि जनकपुर आएका सिंहले कञ्चनलाई आँप दिने प्रलोभन देखाएर बारीमा लगेका थिए ।

बारीमा लगेर बलात्कार पछि हत्या गरेर सिंहले शवलाई बारीमै लुकाएका थिए । दोस्रो दिन आफूले प्रयोग गर्दै आएको कम्बलमा बेरेर उनले कञ्चनको शवलाई नदीमा फालेको खुलेको छ ।

प्रहरीले शव फेला परेको स्थानबाट एउटा कम्बल समेत बरामद गरेको थियो । कम्बलकै आधारमा प्रहरीले भारतीय नागरिक सिंहलाई पक्राउ गरेको हो ।

घटनामा संलग्नको आशंकामा पक्राउ परेका अन्य १९ जनालाई भने परिवारको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्