कोरोनाबारे डब्ल्यूएचओलाई विश्वका २३९ वैज्ञानिकको चेतावनी, सतर्कता विधि बदल्न आग्रह

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ०९


काठमाडौँ । कोरोना भाइरसका बारेमा विश्वका २३९ वैज्ञानिकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई लिखित चेतावनी दिएका छन्।

३२ देशका २३९ वैज्ञानिकले हावाबाट कोरोना भाइरसको संक्रमण फैलिने चेतावनी दिदै सतर्कता विधि परिवर्तन गर्न डब्ल्यूएचओलाई आग्रह गरेका छन्।

महामारीको जीवाणु हावामै रहेको पुष्टि भएकाले वैज्ञानिकहरुले डब्ल्यूएचओलाई महामारीसँग सम्बन्धित निर्देशन र सतर्कता विधि बदल्न आग्रह गरेका हुन्। वैज्ञानिकहरुले यसबारे जानकारी दिन डब्ल्यूएचओलाई पत्र नै लेखेका छन्। यो पत्र आगामी साता साइन्स जर्नलमा प्रकाशित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हावाका कणमा पनि कोरोनाका जिवाणु पत्ता लागेपछि वैज्ञानिकहरुले यस भाइरसलाई एअरवोर्न अर्थात वायु प्रवाहित नाम दिएका छन्। डब्ल्यूएचओले अहिलेसम्म यो भाइरस मानिसले हाच्छ्यूँ गर्दा एकबाट दोस्रो व्यक्तिमा फैलने गरेको बताइरहेका बेला विश्वभरका वैज्ञानिकले हावाबाट पनि कोरोना फैलिने पुष्टि गरेका हुन्। थुक, र्‍याल र सिँगानका छिटाहरुबाट यो भाइरस फैलने सम्भावना धेरै रहने डब्ल्यूएचओले जनाएको थियो।


प्रतिक्रिया दिनुहोस्