नेकपाको घरझगडामा कांग्रेस सहभागी नहुने : प्रवक्ता शर्मा

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री परिवर्तन गर्ने वा नगर्ने, पार्टी विभाजन गर्ने वा नगर्ने भन्ने विषय नेकपाको आन्तरिक विषय भएको भन्दै नेकपाको घरझगडामा सहभागी नहुने स्पष्ट पारेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेटेको बिषय उठेको भन्दैं नेकपाको एकता र विभाजन उनीहरुको घरायसी कुरा भएको र कांग्रेसको कुनै भूमिका नरहने बताउनुभएको हो । उहाँले नेकपाको घरझगडालाई प्रतिपक्षीका नाताले नजिकबाट हेरिरहेको भने बताउनुभयो ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको जानकारी सभापति देउवाले बैठकमा गराउनुभएको जानकारी दिनुभयो । प्रवक्ता शर्माले संसद अधिवेशन अन्त्य गर्नुभन्दा एकदिन अघिमात्र भेट भएको र संसद अधिवेशन अन्त्य गर्ने बिषयमा समेत प्रधानमन्त्रीले जानकारी नगराउनुभएको बताउनुभयो ।

बैठकमा केही केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भएको गोप्य भेटबारे जवाफ मागेका थिए । त्यस्तै बैठकमा कांग्रेसको महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने बारेमा पनि छलफल केन्द्रीत रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्