एमसीसी कार्यान्वयनको म्याद बढाउने पत्रचार आपत्तिजनक : जागरण अभियान

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : २८


काठमाडौं । एमसीसी कार्यान्वयनको म्याद बढाउन नेपाल सरकारले पत्राचार गरेकोमा राष्ट्रिय जागरण अभियानले आपत्ति जनाएको छ । अभियानको कार्यसमितिको शनिबार सम्पन्न अनलाइन बैठकपश्चात संयोजक सन्तबहादुर नेपालीद्वारा आइतबार जारी प्रेस वक्तव्यमा आपत्ति जनाइएको हो ।

यस्तो छ जारी प्रेस वक्तव्य :

राष्ट्रिय जागरण अभियान
प्रेस वक्तव्य

राष्ट्रिय जागरण अभियान कार्यसमितिको अनलाइन बैठक संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा २०७७ असार २० गते सम्पन्न भएको छ । बैठकले लिएका निर्णयहरुबारे सार्वजनिक जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

१. नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि नै गम्भीर आघात पार्ने बदनियतका साथ आएको अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट पारित हुने खतरा तत्कालका लागि टरेको छ । कोरोना कहरले सिर्जना गरेको लकडाउनको अप्ठ्यारो परिस्थितिमा पनि राष्ट्रघाती एमसीसीका विरुद्धमा सडकमा निरन्तर चलेको संघर्ष र सत्तारुढ नेकपाभित्रै पनि बहुमत नेता कार्यकर्ता विरोधमा उत्रिएपछि यी सबै दबाबका कारण एमसीसी तत्काल संसदबाट अनुमोदन हुने खतरा टर्नु सबै देशभक्त नेपालीहरुका लागि खुशीकै कुरा हो । तर एमसीसी कार्यान्वयनको खतरा भने अझै टरिसकेको छैन । सम्झौताअनुसार एमसीसी २०७७ असार १६ सम्म नेपालको संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लगिसक्नुपर्ने हुन्थ्यो । असार १० गते सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १७ असारको लागि डाकेपछि १६ असारभित्र नेपालको संसदबाट एमसीसी अनुमोदन हुने खतरा तत्कालका लागि टर्न पुगेको थियो । तर १५ असारमा अर्थ मन्त्रालयले अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेख्दै एमसीसी कार्यान्वयनमा जाने समय थप गर्न माग गरेको छ । जनस्तरबाट एमसीसीको यसरी व्यापक विरोध हुदाँहुँदै पनि यसलाई खारेज नगरी अझ कार्यान्वयनको म्याद थप्न पत्राचार गर्ने नेपाल सरकारको उक्त निर्णयप्रति राष्ट्रिय जागरण अभियानले कडा आपत्ति प्रकट गर्दछ । सरकारको यो कदमले नेपालमा एमसीसी कार्यान्वयनको खतरा अझ जीवित रहेको प्रष्ट पारेको छ । त्यसैले राष्ट्रघाती एमसीसी विरुद्धको संघर्षलाई निरन्तर अघि बढाउनु पर्ने आवश्यकतामा राष्ट्रिय जागरण अभियानले जोड दिन्छ ।

एमसीसी इण्डोप्यासेफिक रणनीतिकै अङ्ग रहेको र नेपालको सार्वभौमसत्तामाथि गम्भीर आघात पार्ने बदनियतका साथ नै अमेरिकी साम्राज्यवादले त्यसलाई नेपालमा लागु गर्न खोजेको प्रष्ट छ । राष्ट्रघाती एमसीसी परियोजनालाई नेपालमा लागु हुन नदिई खारेज गर्न निरन्तर आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकता अहिले पनि देखिन्छ । त्यसैले राष्ट्रिय जागरण अभियानको बैठकले एमसीसीका विरुद्धमा संघर्षरत रहेका विभिन्न संघसंस्थाहरुसँग मिलेर वा एकलरुपमा पनि आन्दोलन अगाडि बढाउने पूर्व निर्णयलाई निरन्तर जारी राख्ने निर्णय गरेको छ ।

२. रुकुम चौरजहारीको नरसंहारकारी हत्याकाण्डका दोषीहरुलाई कानुनअनुसार कडा कारवाही गर्नुपर्नेमा हामीले शुरुदेखि नै जोड दिँदै आइरहेका छौं । जनस्तरको चौतर्फी दवावपछि प्रहरी प्रशासनले त्यस जघन्य हत्याकाण्डका दोषीहरुलाई पक्राउ गरेर मुद्दा त दायर गर्यो तर अहिले राजनीतिक दबाबको आधारमा उक्त मुद्दालाई कमजोर बनाएर दोषीहरुलाई उन्मुक्ति दिने चलखेल चलिरहेको समाचारहरु आइरहेका छन् । वास्तवमा जातीय अहंकारवादी भावनाले सिर्जना गरेको रुकुम चौरजहारीको उक्त घटना मानवता विरुद्धकै गम्भीर अपराध हो । त्यो अपराधमा सङ्लग्न दोषीहरुलाई उन्मुक्ति दिने षड्यन्त्रका बिरुद्ध चलिरहेको संघर्षप्रति राष्ट्रिय जागरण अभियानले ऐक्यबद्धता जाहेर गर्दछ र त्यो खबरदारीपूर्ण संघर्षलाई निरन्तर अगाडि बढाउनु पर्नेमा जोड दिन्छ ।

३. राष्ट्रिय जागरण अभियानको बैठकले कार्यसमितिमा ५ जना नयाँ नाम अनुमोदन गरेको छ । बैठकले यस समितिमा रही काम गर्न इच्छा प्रकट गरी देशका विभिन्न जिल्लाहरुबाट आएका नामहरुमध्ये हाललाई ५ जनाको नयाँ नाम अनुमोदन गरेको हो । नयाँ थपिएका सदस्यहरुमा माधव ज्ञवाली (पाल्पा), कृष्णप्रसाद आचार्य (अर्घाखाँची), सागर भण्डारी (गुल्मी), बुद्धिराम गैरे (अर्घाखाँची) र विशङ्कर पराजुली (कपिलवस्तु) रहनु भएको छ । पाँचजना नयाँ सदस्य थपिएसँगै राष्ट्रिय जागरण अभियान कार्यसमितिको संख्या अब ३६ पुगेको छ । यस अभियानमा सामेल भएर काम गर्न इच्छा प्रकट गर्नुहुने अन्य साथीहरुबारे आगामी बैठकहरुमा निर्णय लिँदै जाने समेत निर्णय भएको छ ।

२०७७ असार २१
सन्तबहादुर नेपाली
संयोजक


प्रतिक्रिया दिनुहोस्