टेष्टिङपछि छिट्टै उपत्यकाका घरघरमा मेलम्चीको पानी : मन्त्री मगर

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : ४४


काठमाडौं । मेलम्चीको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ।

सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो। आज विहान ९ः ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङमार्गमा पानी प्रवाह सुरु गरिएको हो।

हेडवर्क निर्माणको काम जारी रहेकाले सो स्थानभन्दा १ सय मिटर माथि निर्माण गरिएको अस्थायी बाँधबाट पानी प्रवाह सुरु गरिएको आयोजना प्रमुख तिरेश खत्रीले बताउनुभयो।

उपत्यकामा पानी झर्न अझै २ महिना भन्दा बढी समय लाग्छ। सुरुङमा हालिएको पानी सुन्दरीजलसम्म पुग्न नै करिब ३ हप्ताको समय लाग्छ। आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो।

खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले परीक्षणसँगै मेलम्ची आयोजनाका विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताउनुभयो। मेलम्ची आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘आयोजनाको काम सम्पन्न गरेर आजबाट पथान्तरणको काम सुरु भयो। आवश्यक ट्ष्टिङ प्रक्रिया सकेर उद्घाटनको मिति तय गर्ने छौँ। मिति तय गरेर छिट्टै घर घरमा पानी पुरयाउने छौँ।’’

निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म रहेको छ। निर्माण काम निर्धारित समयभन्दा पहिले नै सकिने विश्वास लिइएको छ।

खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो। अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सोमबार सुरुङमार्गतर्फ पानी पठाइँदैछ।

सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो।

 


प्रतिक्रिया दिनुहोस्