हराएका २० मोटरसाइकल प्रहरीले सम्बन्धित धनीलाइ बुझायो

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : २३


काठमाडौं । हानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ।

प्रहरीले विभिन्न स्थानबाट चोरी भई फेला परेका २० थान मोटरसाइकल तथा स्कुटरहरु आइतबार पत्रकार सम्मेलन गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

वरिष्ठ प्रहरी उपरीक्षक एवं महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले मोटरसाइकल तथा स्कुटर चोरी भएको उजुरी परेको आधारमा विभिन्न समयमा चेकजाँचको क्रममा र केही स्थानमा बेबारिसे अवस्थामा रहेको अवस्थामा फेला परेको बताउनुभयो।

उहाँले ती मोटरसाइकल तथा स्कुटरहरुको धनी खोजतलास गर्दा चोरी भएको पाइएको बताउनुभयो। उहाँले यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित धनी पत्ता लगाई आज (आइतबार) हस्तान्तरण गरिएको बताउनुभयो।

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो।

लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेकजाँच हुँदा कागजपत्र प्राप्त नभई छोडेर गएका मोटरसाइकलहरु चोरी भएको पाइएको ज्ञवालीले बताउनुभयो।

उहाँले काठमाडौं उपत्यकामा चक्रपथ भन्दा बहिरको क्षेत्र र सार्वजनिक पार्किङबाट मोटरसाइकल चोरी भएको तथा हराएको उजुरी सबैभन्दा धेरै परेको जानकारी समेत दिनुभयो।


प्रतिक्रिया दिनुहोस्