विदेशीलाई नेपाली नागरिक वितरण गर्ने प्रशासकीय अधिकृत पक्राउ

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ४४


काठमाडौं । झुटा विवरण पेश गरी विदेशी नागरिकलाई नेपाली नागरिकता प्रमाण पत्र उपलब्ध गराउने नेपाल सरकारका अधिकृत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य छन् ।

उनलाई शनिबार भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

झुटा विवरण पेश गरी आचार्यले १० मंसिर २०७२ मा विदेशी नागरिकलाई नेपाली नागरिकता उपलब्ध गराएको आरोप लागेको छ ।

विदेशी नागरिकलाई नेपाली नागरिकता वितरण गरेको मुद्दामा जिल्ला अदालत झापाले जारी गरेको पक्राउ पूर्जीका आधारमा उनी पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आचार्यलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत झापामा उपस्थित गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्