हराएका मोटरसाकल खोजी गरी प्रहरीद्वारा सम्बन्धित धनीहरुलाई हस्तान्तरण

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : २९


काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिहरुमा हराएका मोटरसाइकल तथा स्कुटरहरु फेला पारी प्रहरीले सम्बन्धित धनीहरुलाई बुझाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी हराएर फेला पारेका मोटरसाइकलहरु सम्बन्धित धनीहरुलाई बुझाएको हो ।

विभिन्न व्यक्तिले आफ्नो सवारी साधन हराएको व्यहोरो उल्लेख गर्दै प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा प्रहरीले २० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

सवारी धनीले सकेसम्म आफ्नो सवारीको सुरक्षा आफैं गर्नुपर्ने र हराएको खण्डमा समयमै प्रहरीलाई खबर गरे हराएका सवारी फेला पार्न सकिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीको भनाइ छ ।

प्रहरीका अनुसार विभिन्न ठाउँमा पार्किङ गरेर राखिएका तथा घरमै रहेका मोटरसाइकलसमेत हराउने गरेका छन् । यस्ता गिरोह सक्रिय रहेकाले आफ्नो सामान सुरक्षितसाथ राख्न प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

अघिल्लो हप्ता पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसैगरी हराएर फेला पारेका ३० मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस्