कृषि विकास बैंकबाट ५ करोड चोरी गर्ने समूहका अर्का व्यक्ति पक्राउ

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ०६


काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी झन्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न समूहका अर्का एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले शनिबार बेलुका अर्का एक व्यक्तिलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको रुबिभ्याली गाउँपालिका–२ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–५ बस्दै आएका ३६ वर्षीय सौजन तामाङ छन् ।

अपराध महाशाखाको गत वर्ष असोज ७ गते कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको थियो । महाशाखाको टोलीले श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जालाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

उनीहरुले कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनधिकृत पहुँच स्थापना गरी बैंकको मास्टर अकाउन्टमा रहेको रकम अन्य व्यक्तिको खातामा रकमान्तर गर्ने गरेका थिए ।

७ असोज २०७६ मा कृषि विकास बैंक न्यूरोड शाखामा सुनिता श्रेष्ठको खातामा अचानक ४९ लाख ५० हजार रुपैयाँ जम्मा भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानका क्रममा उनीहरुले बैंकको मास्टर अकाउन्टमा पहुँच राखी ठूलै रकम चोरी गर्ने योजना रहेको तथ्य खुलेको थियो । प्रहरीका अनुसार उक्त समूहले कृषि विकास बैंकको सिस्टम ह्याक गरी ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर (चोरी) गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्