ओलीको कस्तो सन्देश लिएर देउवालाई भेट्न पुगे नेम्वाङ ?

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : ४०


काठमाडौं । नेकपाका संसदीय दलका उपनेता एवं स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादु देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा आफूले प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेको नेम्वाङको भनाइ छ ।

आफूले देउवासँग पछिल्लो राजनीतिक घटनाक्रम, संवैधानिक परिषद्का नियुक्ति, एमसीसी, विभिन्न विधेयकहरुका बारेमा छलफल गरेको नेम्वाङको भनाइ छ ।

सत्तापक्ष र विपक्षबीच निरन्तर संवाद हुनुपर्ने भएका कारण आफू देउवालाई भेट्न र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन गएको उनले बताए ।

कुनै निश्चित विषयमा बताउन भन्दा पनि विभिन्न विषयमा जानकारी गराउने काम भएको उनको भनाइ छ ।

नेकपाको विवाद आन्तरिक भएको र त्यसलाई मिलाउनका लागि देउवाले शुभकामना दिएको नेम्वाङको भनाइ छ । आफू प्रधानमन्त्रीको विशेष सन्देश लिएर नभइ समसामयिक विषयमा जानकारी गराउन गएको उनले बताए ।

पछिल्लो समय सत्तारुढ दलमा विवाद देखिएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँगको छलफललाई तिव्रता दिएका छन् ।

यसअघि पनि प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमा बोलाएर गोप्य छलफल गरेको भन्दै नेकपामा तरंग उत्पन्न भएको छ । त्यसक्रममा ओलीले संयुक्त सरकार बनाउन देउवासमक्ष प्रस्ताव राखेको भन्दै प्रचण्ड नेपालपक्ष शंशयमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्