नेपाल बैंक लिमिटेडका कर्मचारीविरुद्ध ५४ लाख ८४ हजारको भ्रष्टाचार मुद्दा दर्ता

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ३ : ११


काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक (हाल निलम्बित) भुपराज कोइरालाविरुद्ध ५४ लाख ८४ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार कोइरालाले बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका काम गर्ने गरेको भन्दै उजुरी परेको थियो ।

उजुरीमाथिको अनुसन्धानका क्रममा कोइरालाले बैंकबाट प्राप्त व्यक्तिगत टेलर आईडी र सिस्टम सुपर यूजरको दुरुपयोग गरेको तथ्य फेला परेको थियो । कोइरालाले बैंकको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामाम रहेका हिसाब अनधिकृत रुपमा खर्च गरी बैंकबाट ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको भेटिएको हो ।

अख्तियारले कोइरालाविरुद्ध ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा बराबर बिगो कायम गर्दै बिगो असुल र बिगो अनुसार जरिवाना मागदाबी गरेको छ । अख्तियारले कोइरालाविरुद्ध ८ वर्ष कैद सजायको मागदाबी समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्