ओली–प्रचण्डबीच जुटेन सहमति, भोलि फेरि बस्ने

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ५०


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ ।

आफ्ना पक्षका दुई दुई जना नेता सहित अध्यक्षद्वय करिब डेढ घन्टा लामो छलफलमा बसेका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए।

प्रचण्ड पक्षबाट ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए।

सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक अघि दुई नेता बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए ।

दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ ।

पार्टी विवाद कम गर्ने दिशातर्फ आजको बैठक अघि बढेको स्रोतको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस्