राष्ट्रपतिलाई ओलीइतरका नेताहरुले भने– महाअभियोगको कुरा हल्ला मात्रै हो

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १ : २२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीइतर सत्तारुढ नेकपाका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर महाअभियोग प्रस्ताव ल्याउन लागिएको भन्ने चर्चा हल्ला मात्रै भएको बताएका छन् ।

आइतबार बिहान शीतल निवास पुगेका अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताहरुले आफैंले निर्वाचित गरेको राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता गर्ने विषय कल्पना भन्दा बाहिरको कुरा भएको बताउँदै त्यस्तो हल्लामा विश्वास नगर्न आग्रह गरेका हुन् ।

जवाफमा राष्ट्रपति भण्डारीले आफूले पनि त्यस्तो कल्पना नगरेको बताएकी नेकपाका एक नेताले बताए ।

पार्टी स्थायी कमिटीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि नेकपाभित्रको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले पार्टी सचिवालय र नेताहरुको आग्रहको वेवास्ता गर्दै संसद अधिवेशन अन्त्य गरेपछि उनीइतरका नेताहरुले अलग्गै छलफल थालेका छन् ।

शनिबार अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (वादल)सहितको छुट्टै भेला आयोजना गरिएको थियो ।

उक्त भेलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी गरेको बताएका थिए ।

शनिबार अपराह्न राष्ट्रपतिलाई भेट्न पुगेका ओलीले साँझ मन्त्रीहरुसँगको छलफलका क्रममा पार्टी भित्रै बाट राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता गर्ने तयारी भइरहेको भनेपछि उनीइतरका नेताहरु आइतबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपतिसँगको छलफलपछि अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँगको छलफलमा छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले ओली र प्रचण्डको छलफल चलिरहेको छ ।

ओली र प्रचण्डबीचको छलफलमा दोस्रो तहका नेताहरु महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, वर्षमान पुन र शंकर पोखरेल पनि सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्