पार्टीभित्र अल्पमतमा परेपछि ओलीले गरेको त्यो गोप्य भेट !

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको ‘गोप्य भेट’ले नेकपामा तरंग ल्याएको छ ।

विवादमा रुमलिएको नेकपामा मात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुमा समेत प्रधानमन्त्री ओली र सभापति देउवाबीचको भेटवार्तालाई लिएर चासो रहेको छ ।

लामो समयपछि सत्ता बाहिर रहेको नेपाली कांग्रेसका कतिपय नेताहरु र कार्यकर्ताले नेकपा फुटको संघारमा रहेको र प्रधानमन्त्री ओलीले पार्टी फुटिहालेमा सत्ता सहयात्रामा साथ पाउनका लागि सभापति देउवासँग कुराकानी गरेको हुनसक्ने आकलन गरेका छन् ।

त्यस्तै आकलन नेकपाका नेता कार्यकर्ताहरुको पनि रहेको छ । कतिपयले भने प्रचण्ड नेपाल समूहलाई ‘साइज’मा ल्याउन ओलीले देउवासँग भेटवार्ता गरेको दाबी गरेका छन् ।

फाइल तस्वीर

ओली देउवा भेटको वास्तविकता

प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई शिफारिस गरेको अघिल्लो दिन देउवा र ओलीबीच बालुवाटारमा भेट भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनका अनुसार असार १७ गते ओलीले देउवालाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।

तर ओली इतर समूहले लगाएको नेकपा भित्रको विवाद र आगामी सत्ता सहयात्राबारे भने देउवासँग ओलीले कुनै कुरा नगरेको शर्माको भनाइ छ ।

‘भेटको अर्कोदिन संसद अधिवेश अन्त्य गर्नुभयो तर यस बारे पनि उहाँले छलफल र जानकारी दिनुभएन’ शर्माले भने,‘अहिले बजामा दुई जनाबीचको भेटलाई लिएर विभिन्न आशंकाहरु रहेको छ तर उहाँहरुबीच संवैधानिक नियुक्तिबारे मात्र छलफल भएको हो ।’

दुबै पक्षको अडान

४३ सदस्यीय स्थायी समितिमा करिब ३० जना नेताले प्रधानमन्त्री ओलीले पार्टी र सरकारको नेतृत्वबाट विदा लिनुपर्ने माग गरेका छन् ।

सचिवालयसहित स्थायी समितिमा पूर्ण रुपमा अल्पमतमा रहेका ओलीले भने मिचिएको भूमिसहितको नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसका आफ्नै दलका नेताहरु सक्रिय रहेको आरोप लगाएका थिए ।

उनले आफू र राष्ट्रपतिलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै त्यसको प्रतिवाद गर्ने शनिवार मन्त्रीहरुसँगको छलफलमा बताएका थिए । उता प्रचण्ड र नेता नेपाल पक्षका नेताहरु भने पार्टी भित्र देखिएको विवाद समाधानका लागि ओलीले पद छाड्नुपर्ने अडानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्