नेकपामा विवाद उत्कर्षमा पुग्दा कांग्रेसको बैठक बस्दै

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौं।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, कांग्रेसको आगामी महाधिवेशन लगायतका विषयमा कुराकानी हुने जनाइएको छ । बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका तयार गरेको थियो । आजको बैठकले उक्त कार्यतालिकालाई अन्तिम रुप दिने छ ।

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीसँग गरेको भनिएको गोप्य कुराकानीका बारेमा समेत नेताहरुबीच कुराकानी हुने सम्भावना रहेको एक नेताले बताए ।

सत्तारुढ दल नेकपा फुटको संघारमा पुगेको समयमा प्रधानमन्त्री ओली र देउवाबीच सत्ता गठबन्धनका विषयमा कुराकानी भएको चर्चा नेकपामा चलेको छ ।

प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री ओलीले दुई मध्ये एक पद छोड्नु पर्ने अडान लिँदै आएका छन् भने ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्