कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय, आन्तरिक परीक्षाका आधारमा ‘रिजल्ट’

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौँ । कोरोना संक्रमण त्रासका बीच यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीको नतिजा उपलव्ध गराउने निर्णय गरेको हो । यसअघि यस वर्षको एसईई परीक्षासमेत कोरोनाका कारण स्थगित गरिएको थियो ।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईका अनुसार कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको हो ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ ।

कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्ने उनले बताए ।

कक्षा १० मा अर्थात एसईई पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्