प्रधानमन्त्री ओलीको पक्षमा प्रधानमन्त्री मात्रै !

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा मंगलबार अचम्म देखियो । स्थायी कमिटीको आजको बैठकमा जम्मा १८ जना नेताहरुले बोलेका थिए तर तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बोल्ने नेता भने प्रधानमन्त्री आफूमात्रै एक्लै हुनुभयो ।

बैठकमा बोल्ने १८ जना नेताहरूमध्य १२ जनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग्नुभयो । अन्य ५ जना नेताले सरकारको आलोचना गर्नुभयो तर उहाँहरूले राजीनामा भने माग्नुभएन ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गर्नुभयो । त्यसपछि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमले पनि प्रधानमन्त्रीको राजीनामा माग्नुभयो ।

त्यसपछि बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, रघुजी पन्त र पम्फा भुसालले पनि आफूहरुलाई प्रधानमन्त्रीको राजीनामा माग गर्नेहरुकै लहरमा उभ्याउनु भयो । यद्यपि ५ जना नेताले भने सरकारको आलोचना त गर्नुभयो तर प्रधानमन्त्रीको राजीनामा भने माग्नुभएन ।

बैठकमा प्रवक्तासमेत रहनुभएका नारायणकाजी श्रेष्ठ, गणेश साह, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट र भीम आचार्यले सरकारको आलोचना गर्नुभयो । उहाँहरु पाँचैजनाले प्रधानमन्त्रीको राजीनामा भने माग्नुभएन । यसरी बैठकमा प्रधानमन्त्री ओली एक मात्र आफ्नो पक्षमा बोल्ने नेता रहनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्