भारतले टिकटकसहित ५९ एपमा प्रतिबन्ध लगाएपछि चीनले दियो यस्तो प्रतिक्रिया

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार


काठमाडौँ । भारतले टिकटकसहित ५९ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएको चीनले कडा आपत्ति जनाएको छ। यो प्रतिबन्धले दुई देशबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पर्ने भन्दै चीनले भारतको उक्त कदमलाई विभेदकारी भनेको छ।

नयाँ दिल्ली स्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले मंगलबार विज्ञप्ति जारी गर्दै भारतको यो कदमलाई विभेदकारी र विश्व व्यापार संगठनको मान्यताको विरुद्ध भएको बताएका छन्।

चिनियाँ मोबाइल एपले भारतको सार्वभौमिकता र आन्तरिक सुरक्षामा खतरा पैदा गरेको भन्दै भारतीय सूचना प्रविधि मन्त्रालयले ५९ वटा एपलाई प्रतिबन्ध लगाएको बताएको थियो।

लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेनासँग भएको झडपमा २० भारतीय सैनिक मारिएपछि चीन र भारतबीचको सम्बन्धमा चिसोपना आएको छ। चीनले विज्ञप्तिमा भारतले ती एपले भारतीय सुरक्षाामै खतरा भएको भन्ने आरोपको पनि खण्डन गरिएको छ।

यी एपहरु भारतीय उपभोक्तामाझ पनि निकै लोकप्रिय भएको भन्दै उपभोक्ताको रोजाइ र उपभोगको अधिकारलाई पनि यसले कुण्ठित गरेको चीनले उल्लेख गरेको छ। साथै चीनले एप प्रतिबन्धको निर्णय फिर्ता लिई दुई देशबीचको व्यापार सम्बन्धलाई सुमधुर बनाउन पनि आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्