नेकपाकै शीर्ष नेताले राजीनामा माग्दा प्रधानमन्त्री ओलीले के भने ?

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै नेकपाका शीर्ष नेताले दुबै पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चौथौ दिनको स्थायी कमिटी बैठकमा नेकपाका शीर्ष नेताले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन्।

अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नाराणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भिम रावल, रघुजी पन्त, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भिम आचार्यले ओलीको राजीनामा माग गरेका थिए।

राजीनामा माग गरेपछि प्रधानमन्त्री ओलीले भारतलाई गाली गर्दा केही साथिहरुको किन चित्त दुख्छ ? भन्ने प्रश्न गरेका थिए। उनले भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको र त्यसमा नेपाली नेताहरुको सहभागिताबारे भने थप केही बोलेनन्। उनले भारतीय मिडियाहरुका बारेमा मात्र चर्चा गर्न खोजेको भन्दै आफनो अभिव्यक्तिको बचाउ गरे।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयमा पनि प्रश्न गरेका थिए।

उनले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो ? भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने जवाफ दिएका थिए। उनले विना ईश्यूको विषयलाई ल्याएर छलफल गर्न खोजेको भन्दै प्रतिप्रश्न पनि गरेका थिए।

केही दिनअघि प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका कारण आफूलाई भारतले सरकार ढाल्न खोजेको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीको चौतर्फी बिरोध भएको छ।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई लिएर स्थायी कमिटी बैठकमा नेकपाकै शीर्ष नेताले ओलीको राजीनामा माग गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्