उसु खेलाडी वीरमानको अन्त्येष्टि

प्रकाशित मिति : असार १५, २०७७ सोमबार


काठमाडौं । उसु खेलाडी वीरमान वाइबाको आज अन्त्येष्टि गरिएको छ।

उहाँको धार्मिक विधि तथा परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासङ्घले जनाएको छ।

अन्त्येष्टिअघि वाइबाको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा राखिएको थियो।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीका सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका प्रशिक्षक, खेलाडीलगायतले वाइबाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

नेपाली सेनामा आबद्ध उहाँलाई सेनाले अन्तिम सलामीसमेत दिएको थियो।

वाइबाको आइतबार काभ्रेपलाञ्चोकको बेथानचोकस्थित उहाँकै निवासमा २७ वर्षको उमेरमा निधन भएको थियो।

वाइबाले सन् २०१८ मा इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपालबाट सहभागिता जनाउनुभएको थियो।

उहाँ राखेप च्याम्पियनसिपको पदक विजेतासमेत हुनुहुन्थ्यो।शुरुआतमा वाइबा क्योकुसिन करातेका खेलाडी हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस्