खुमलटारमा मनाइयो धान दिवस

प्रकाशित मिति : असार १५, २०७७ सोमबार


काठमाडौं। आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइदैछ।

ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ।

कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।

कार्यक्रममा उपस्थित हुुभएका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतिको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझैपनि बन्न नसकेको बताउनुभयो।

उहाँले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाई भइरहेको बताउनुभयो। उहाँले कृषि अनुसन्धान र किसानको बिचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको उहाँले बताउनुभयो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताउनुभयो।

उहाँले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताउनुभयो।

उहाँले कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि कृषि उत्पादनमा लाग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खेतमै पुगेर कार्यक्रम गरिनु उचित भएको बताउनुभयो।

नेपाल कृषि अनुसन्धान परिषद्का कायएकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताउनुभयो।

नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने बताउनुभयो।

उहाँले परम्परागत रुपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्