५५ वर्ष पुगेका पत्रकारलाई मासिक २ हजार प्रोत्साहन भत्ता

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ७ : २९


खोटाङ । खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आफ्नो पालिकालाई नेपालकै नमूना मिडियामैत्री गाउँपालिका घोषणा गरेको छ । उसले ५५ वर्ष उमेर पुगेका पत्रकारलाई प्रोत्साहन भत्तास्वरुप मासिक २ हजार दिने नीति तथा कार्यक्रम ल्याएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ देखि ५५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेका पत्रकारलाई मासिक २ हजार प्रोत्साहन भत्ता उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको हो । पत्रकार महासंघको सदस्यता लिएर पत्रकारिता पेशासँगै अन्य पेशामा आवद्ध रहेका पत्रकारको हकमा भने यो व्यवस्था लागू नहुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनु भयो ।

‘पत्रकारको पेशागत सुरक्षाका लागि चर्चा गर्ने तर कार्यान्वयन नगर्ने’ राष्ट्रिय रोग चलिरहेकै बेला दिप्रुङ चुईचुम्मा गाउँपालिकाले स्थानीय सरकारका रुपमा पत्रकारमैत्री नीति तथा कार्यक्रम ल्याएको हो । प्रोत्साहन भत्ताको मात्रा क्रमशः वृद्धि गर्दै लैजान सकिने पनि गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

त्यसैगरी गाउँपालिकाले जिल्लामा क्रियाशील पत्रकारलाई मुटु, क्यान्सर, मष्तिष्कघात जस्ता गम्भीर प्रकृतिका रोग लागेको अवस्थामा उपचारमा लागेको २० प्रतिशत खर्च सहयोग गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमको विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पूरा गर्ने सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने, गाउँपालिकाको सुशासन अभिवृद्धिका लागि सूचनाको हकसम्वन्धी कानून कार्यान्वयनमा जोड दिने, गाउँपालिकाका हरेक सूचना घर–घरमा पुराउने, सामुदायिक सम्वाददाता उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गर्ने, एफएम÷रेडियो सञ्चालनका लागि अनुमति दिने लगायतका बुँदा नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउन पर्यो भनेर मुलुकभर आवाज उठेको देखिन्छ । तर, त्यसको कार्यान्वयन कतै भएको देखिन्न । कम्तिमा यसको शुरुवात हाम्रो ठाउँबाट गरौं भन्ने हाम्रो नीति हो’, गाउँपालिकाका अध्यक्ष राईले भन्नुभयो, ‘सूचना तथा सञ्चारमाध्यमको दृष्टिकोणले नमूना गाउँपालिकाको रुपमा विकसित गर्ने लक्ष्य लिएका छौँ । यो स्थानीय सरकारको दायित्व पनि हो ।’

मिडियामैत्री नीति तथा कार्यक्रम ल्याएको भन्दै जिल्लाका पत्रकारहरुले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको नीति तथा कार्यक्रमको स्वागत गरेका छन् । अन्य स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले समेत पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउनुपर्ने पत्रकारको भनाई छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्