आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : २४


काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा रोल्पाका गोकुल घर्ती नियुक्त हुनुभएको छ । उपाध्यक्ष नियुक्तिका लागि बनेको सिफारिस समितिको सिफारिसको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई उपाध्यक्षमा नियुक्ति गर्नुभएको हो ।

प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको सिफारिस समितिको सिफारिसमा घर्तीलाई नियुक्त गरिएको हो । सिफारिस समितिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र महासचिव ज्ञानेन्द्र पुनमगर रहनुभएको थियो । समितिले घर्तीसहित अन्य दुई जनाको नाम पठाएको थियो ।

प्रतिष्ठानको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई नियुक्त गर्नुभएको हो । प्रतिष्ठानको कार्यकारी पद उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्षको कार्यकाल चार वर्षको रहने व्यवस्था छ । उपाध्यक्षमा नियुक्त घर्ती तत्कालीन नेकपा एमालेको संसदीय दलको सचेतक रहिसक्नुभएको छ । हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पार्टीको आदिवासी जनजाति इञ्चार्ज हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्