आयोजनाको नाममा नदीजन्य पदार्थ क्रसर कम्पनीमा

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : १२


शिवु खनाल
दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको समृद्धि माइनिङ क्रसर उद्योगले राप्ती नदीबाट अवैधरुपले नदीजन्य पदार्थ ओसारपसार गरेको पाइएको छ ।

उद्योगले तटबन्धका नाममा नदीबाट गिट्टी, बालुवा (मिस्कट) उठाउने र क्रसरमा लगेर डम्पिङ गर्ने गरेको बताइएको छ । समृद्धि माइनिङ कम्पनीको रा १ ख १५७८ नम्बरको एउटा र वाइवा कन्ट्रक्सनको ना ८ ख ३९१३ नम्बरको अर्को टिप्परले नदीजन्य पदार्थ बोकिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विकासे योजनाका नाममा क्रसर कम्पनीहरुले बदमासी गर्ने कुनै नौलो कुरा भने हैन । आयोजनाको काममा थोरै लैजाने र सिधै क्रसर कम्पनीमा धेरै लगेर दिने गरेको स्थानीयले बताउँछन् ।

यता वाइवा कन्ट्रक्सनका टिप्परचालक रुद्र पुन मगरका अनुसार राप्ती नदीबाट कच्चापदार्थ उठाएर जनताको तटबन्धका लागि लग्ने गरेको बताए । त्यस्तै समृद्धि माइनिङका टिप्पर चालक चिरण चौधरीले डम्पिङ गरेर राखिएको कच्चापदार्थ क्रेसरमा लग्ने गरेको बताए । तर ती टिप्परहरुले आयोजनाको नाममा नदीबाट सिधै क्रसरमा लैजाने गरेको स्थानीयले दिएको सूचना दिएको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

यदि जनताको तटबन्धको कामका लागि भए काम हुँदै गरेको स्थलदेखि विपद ननिम्तिने गरेर ५० मिटरको वरपरबाट नदीजन्य पदार्थ उठाउन सक्ने प्रावधान रहेको जिल्ला समन्वय समिति दाङका उपसंयोजक श्रीधर शर्मा पौडेलले जानकारी दिनुभयो । केही दिनअघि पनि त्यो क्षेत्रमा क्रसर कम्पनीहरुले बदमासी गरेको उनको भनाई छ । तटबन्धको र्याम भर्नलाई साइडबाटै उठाउने हो तर नदीको बीचमा गएर लिन पाइँदैन उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्