आलोपालो प्रधानमन्त्री छाड्नु गल्ती थियो, अवस्था यस्तै रहे पार्टी विघटन हुनसक्छ : प्रचण्ड

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : ०४


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकताका बेला भएको सहमति अनुसार आफू पछाडी हट्नु गल्ती भएको बताएका छन्।

बुधबार बालुवाटारमा भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले एकतापछि पार्टीको हितका लागि आफूले एकपछि अर्को त्याग गरेको उल्लेख गरे।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामले प्रशंसा नपाएको गुनासो गरेका थिए भने अध्यक्ष दाहालले सरकारको आलोचना गरेका थिए।

प्रधानमन्त्री बन्ने सहमति समेत त्यागिदिएको स्मरण गराउँदै दाहालले सरकार संचालन गर्दा त्यस्तो भावनाको बेवास्ता भएको भन्दै असन्तुष्टि जनाए।

‘आलोपालो सहमति छाडेर गल्ती गरेँ कि भन्ने महशुश भएको छ,’ उनको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने। प्रचण्डले सरकारको गम्भीर समिक्षामा जोड दिएका थिए।

अहिलेको बहुमत एउटा व्यक्तिका लागि मात्र आएको नभई नेकपाका लागि आएको प्रचण्डको भनाई थियो। अवस्था यस्तै रहिरहे आगामी दिनमा पार्टी विघटनको दिशामा जाने चेतावनी समेत दाहालले दिएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्