लमहीको खनाल स्टोरबाट अवैध सुर्ती बरामद

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ००


शिवु खनाल
देउखुरी । लमही बजारमा रहेको खनाल स्टोर्सबाट सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । आन्तरिक राजश्व विभागको स्टिकर प्रयोग नगरी अवैध बिक्रीबितरण गरेको भन्दै इलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमही, लमही नगरपालिकाका जनप्रतिनिधि, उद्योग बाणिज्य संघको टोलीले सामान बरामद गरेको हो ।

गोरखा टोबाको इन्डस्ट्री प्रालि नेपालगन्जद्वारा उत्पादित एक्सपावर र बजरङ्गी ब्राण्डका दुई थरीका सुर्तीका चौध प्याकेट बरामद गरिएको छ । बरामद सुर्ती उद्योगले नै सरकारलाई कर छली गरेको र कम्पनीले बितरण गर्ने अन्य थोक तथा फुटकर बिक्रेताहरुले पनि राज्यलाई कर छली गर्दै मानवजीवनमा घातक रोग निम्त्याउने सुर्तीजन्य पदार्थ लमही बजारमा रहेको खनाल स्टोर्सले पनि राजश्व छली गरेर बिक्रीवितरण गरेको सूचनाको आधारमा बरामद गरिएको इलाका प्रशासन कार्यालय लमहीका नायब सुब्बा वामदेब गिरीले जानकारी दिनुभयो ।

बरामद गरिएको सुर्तीजन्य पदार्थ र स्टोर्सका सञ्चालक इन्द्रमणि खनाललाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको छ । यसअघि पनि खनालको शेयर रहेको आरके सप्लायर्सले झण्डै १ लाख साठी हजार बराबरको कुहिएको चामल बिक्री गरेको थियो । उक्त चामल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले खान मिल्ने र कुहिएको छैन भनेर पुष्टि गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्