पुरुषका लागि डिजाइन गरिएको पीपीई लगाउँदा महिलाले भोगिरहेका छन् यस्ता समस्या

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : ०९


काठमाडाैं । कीर्ति शाह (नाम परिवर्तन) दिल्लीस्थित एउटा अस्पतालको सघन उपचार कक्षकी नर्स हुन्। ३१ वर्षीया उनी आफूलाई एक आशावादी व्यक्ति मान्छिन्। “तर बितेका तीन महिना एकदमै अफ्ट्यारा भए,” उनी भन्छिन्।

उनको पालो ४५ मिनेटको पीपीई भनिने व्यक्तिगत सुरक्षा सामग्री लगाउने प्रक्रियाका साथ सुरु हुन्छ। यो प्रक्रियाका क्रममा एउटा गाउन, फेस मास्क, चस्मा, फेस शील्ड र पञ्जा पहिरिनु पर्छ। तर महिला भएकाले उनले थप अतिरिक्त उपायहरू पनि गर्नुपर्छ।

उनले ‘एक्स्ट्रा लार्ज’ गाउनका साथमा मास्कलाई टेप लगाएर टास्नुपर्ने हुन्छ, किनकी यो सर्नसक्छ र उनको गर्दन खुला हुने खतरा हुन्छ। घाउ नहोस् भनेर चस्मा र नाकको बीचमा उनले कपास लगाउनु पर्छ र पञ्जा लगाउनुअघि लामा बाहुलाहरूलाई पनि सम्हाल्नु पर्छ।

त्यसपछि उनी सबै कुराहरू ठीक छन् कि छैनन् भनेर हेर्छिन्। उनी आफ्नो कानको पछाडि मास्क बाँधिएको छ कि छैन हेर्छिन्। त्यहाँ ‘लार्ज साइज’का मात्र मास्कहरू उपलब्ध छन्। पीपीई लगाएको कम्तिमा पनि दुई घण्टासम्म उनी केही पनि पिउँदिनन्।

उनी भन्छिन्, “हामी आफ्नो पालोका बेलामा न केही खान सक्छौँ, न पानी पिउन सक्छौँ वा शौचालय नै जान सक्छौँ। यस्तोमा आफ्नो पालो आउनुभन्दा अघि नै हामी पानी पिउन बन्द गर्छौँ।”

प्रोटेक्टिभ गियर भनिने उक्त सुरक्षात्मक पोसाक ६ घण्टाको पालो पूरा भएपछि मात्र फुकाल्न सकिन्छ, यो प्रक्रियालाई ‘डोफिङ्ग’ भनिन्छ।

पीपीईमै रक्तश्राव
उनी भन्छिन्, “रजस्वला होउञ्जेल यसलाई झेल्न सकिन्छ। कुन बेला चाहिँ गाह्रो हुन्छ भने, जब मलाई धेरै पसिना आइरहेको हुन्छ, मेरो चस्मामा बाफ बस्न थाल्छ र मेरो पीपीई सुटभित्र नै रक्तश्राव सुरु हुन्छ।”

एकपटक आफूले दाग नदेखियोस् भनेर छेक्नका लागि पुरुष साथीलाई भन्नुपरेको र बीचमै पालो छाडेर हिड्नुपरेको उनी स्मरण गर्छिन्। धेरै समस्या नहोस् भनेर उनले इन्टरनेटमा ‘दिनमा कम रक्तश्राव हुने उपाय’ सर्च गर्नुपर्‍यो। एउटा सल्लाह उनका लागि काम लाग्यो।

त्यो सल्लाह थियो- तातो पानीमा एक घण्टासम्म नुहाउनु, जसले गर्दा उनको पालो पर्नुभन्दा अघि नै पर्याप्त रगत जाओस्। “यसको कुनै वैज्ञानिक आधार त छैन तर मसँग कुनै अर्को उपाय पनि त थिएन,” उनी भन्छिन्, “प्रोटेक्टिभ गियर बनाउने बेलामा कसैले पनि महिलाको रजस्वलाबारे सोचेन होला।”

पीपीई खासगरी पुरुषका लागि डिजाइन गरिएका थिए। यो विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चिन्ता व्यक्त भइरहेको छ। स्टयान्डर्ड भनिएको पीपीई खासगरी युनिसेक्स अर्थात् सबै लिङ्गीलाई हुने खालको भनेर डिजाइन गरिन्छ।

अधिकांश समय महिलाका लागि उपयुक्त हुँदैन। यो गियर कोभिड-१९ को लडाइमा अग्रपङ्तिमा खटिनेहरूको सुरक्षाका लागि एकदमै जरुरी हुन्छ। तर केही स्वास्थ्यकर्मीहरू के भन्छन् भने पीपीई सुटको सबैभन्दा सानो आकार पनि महिलाहरूका लागि एकदमै ठूलो हुन्छ।

विश्वभरिको स्वास्थ्य प्रणालीमा कार्यरत स्वास्थ्यकर्मीमा ७० प्रतिशत महिला रहेका छन्। यदि पीपीई सुट धेरै ठूलो भयो भने त्यसले भाइरसलाई पूर्ण रूपमा रोक्न सफल हुँदैन। साथसाथै यो पहिरनेका लागि चाँडै समस्या उत्पन्न हुनसक्छ।

ब्रिटिश मेडिकल एसोसिएशनको चिकित्सक यूनियन परामर्श समिति सदस्य हेलेन फिडलरका अनुसार, “यो समस्या किन उत्पन्न भयो भने यो सूट मूलरूपमा अमेरिकी वा युरोपेली पुरुषलाई हेरेर बनाइएको छ।”

यूकेको ट्रेड यूनियन कङ्ग्रेस (टीयूसी) ले सन् २०१७ मा गरेको एउटा अध्ययनका अनुसार करिब ५७ प्रतिशत महिला स्वास्थ्यकर्मीहरूले कैयौँ पटक पीपीईले उनीहरूको काममा नराम्रो असर परेको बताएका थिए।

दुईवटा आकारका मात्र मास्क
तर यो कुरा यूकेमा मात्र सीमित छैन। विश्वभरि नै महिला स्वास्थ्यकर्मीहरूले पीपीईको आकारलाई लिएर आवाज उठाइरहेका छन्। स्ट्यान्डफोर्ड विश्वविद्यालय स्कुल अफ मेडिसिनकी ‘स्कलर इन रेजिडेन्ट’ डा. अर्घवन सालेस हाल न्यूयोर्कको एउटा अस्पतालको सघन उपचार कक्षमा काम गरिरहेकी छन्।

उनी भन्छिन्, “एन-९५ मास्क केवल दुईवटा आकारमा आउँछ, त्यो विचित्र कुरा हो। अरु कुन चिज छ त्यो दुईवटा आकारमा मात्र आओस्? के हामी यो संसारमा अनुहार दुईवटा आकारका मात्र छन् भन्ने बताइरहेका छौँ?”

उनी आफूलाई सानो आकार मात्र उपयुक्त हुने तर त्यो पाउन मुस्किल पर्ने बताउँछिन्। उनी आफूलाई सानो आकारको चस्मा र पञ्जा पनि ठूलो हुने बताउँछिन्। आफूहरूले लगातार सम्झौता गर्नुपरेको उनको गुनासो छ।

कैयौँ देशहरूले स्वास्थ्यकर्मीका लागि प्रोटेक्टिभ गियर कम भएको लगातार बताइरहेका छन्। केही महिलाहरू भन्छन्- त्यसैले गर्दा आफ्नो खालको पीपीई माग्न मुस्किल भइरहको छ।

दिल्लीस्थित एउटा सघन उपचार कक्षमा कार्यरत एकजना नर्सले भनिन्, “हामीले प्रोटेक्टिभ गियर पायौँ त्यसैले हामीलाई भाग्यमानी भनिएको छ। यस्तोमा हामीले सम्झौता गर्नुपर्छ।”

कैयौँ दिनसम्म पिसाब रोक्नुपर्दा उनलाई पिसाब सङ्क्रमण समेत भएको थियो। राम्ररी नबनाइएका पीपीईका कारण अन्य स्वास्थ्यकर्मीको छाला र अनुहारमा डाम पनि बसेको उनले बताइन्।

रेनाता पिएत्रो ब्राजिलको साओ पाउलोस्थित एक अस्पतालमा सघन उपचार कक्षमा काम गर्छिन्। उनी ब्राजिलियन एसोशिएन अफ क्रिटिकल केयर नर्सेजकी संस्थापक सदस्य पनि हुन्।

उनी भन्छिन्, “म ५ फुट १ इन्चकी छु। मलाई ठूलो मास्क लगाएर हरेक दिन ८ देखि १० घण्टासम्म काम गर्नुपर्छ। मैले सुरक्षित रहन निकै कोसिस गर्नुपर्छ।”

समस्यामा स्वास्थकर्मी मात्र छैनन्
महिलाका लागि बनाइएको पीपीईको माग केवल स्वास्थ्य क्षेत्रमा मात्र सीमित छैन। विज्ञान र अन्य काममा सहभागी हुने महिलाले पनि पुरुषका लागि बनाइएका उपकरण र सामग्रीहरू प्रयोग गर्नुपर्छ।

सन् २०१९ मा नासाले महिलाहरूका लागि मात्र ‘स्पेसवाक’ बनाउने योजनाको रद्द गरिदिएको थियो। त्यसको कारण उपयुक्त आकारका ‘स्पेस सुट’ उपलब्ध नहुनु भएको बताइएको थियो।

एकजना बायलोजिस्ट जेसिका माउन्टले बीबीसीलाई भनेकी थिइन्, “प्रतिनिधित्व हरेक क्षेत्रमा हुनुपर्‍यो। यदि हामीले उपकरण र कपडाजस्ता कुरालाई रोकेर राख्यौँ भने आउने भविष्यमा महिलाहरू कसरी सबै विकल्पको प्रतिनिधित्व गर्न पाउँछन्?”

-बीबीसी


प्रतिक्रिया दिनुहोस्