देशका विभिन्न स्थानमा एकैदिन चार मृत शव फेला

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ३ : ०४


काठमाडौं । देशका विभिन्न स्थानमा एकैदिन चार मृत शव फेला परेका छन् । झापा, रुपन्देही र प्युठानमा गरी मंगलबार चार मृत शव फेला परेका हुन् ।

झापाको बिर्तामोड नगरपालिका–१० सैनिक बजारमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सैनिक बजारका ६० वर्षीय खगेन कर्मकार गाउँकै सडक छेउमा मंगलबार दिउँसो मृत भेटिएका हुन् । बिहान काममा जान्छु भनेर घरबाट हिँडेका उनी मृत फेला परेको परिवारले बताए ।

रुपन्देहीको कोटइमाइ गाउँपालिका–२ पटरिहवा बस्ने १८ वर्षीय विजय कुमार लोहनी मृत फेला परेका छन् । सम्मरिमाइ गाउँपालिका–७ तिनाउ खोलाको बेदकुइया घाटमा मंगलबार दिउँसो लोहनी मृत अवस्थामा फेला परेका हुन्।

प्युठानको माण्डवी गाउँपालिका–३ बस्ने ७८ वर्षीया फूलमती योगी सरूमारानी मृत भेटिएकी छन् । माण्डवी–३ धनमौरे सामुदायिक जंगलको माडीखोला किनारमा मंगलबार दिउँसो उनी मृत फेला परेकी हुन् ।

यसैगरी प्युठानको स्वर्गद्वारी नगरपालिका–३ जुडढुंगास्थित माडीखोलाको बगरमा परिचय नखुलेकी करिब ५० वर्षीया महिलाको शव मंगलबार दिउँसो फेला परेको छ । चारैवटा घटनाका विषयमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्