अश्लेषाको अन्तर्वार्तापछि सुषमा पनि खनिइन् पूजामाथि, के होला कारण ?

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : ५४


काठमाडौं । नेपाली फिल्म इण्डस्ट्रीमा गुट, स्वार्थ समूह, झुण्ड बनाएर अर्को पक्षलाई पछार्ने खेल बेस्सरी चल्ने गरेको तथ्य पछिल्लो समयमा सार्वजनिक हुन थालेका छन् । नायिका अश्लेषा ठकुरीले एउटा अन्तर्वार्तामा त्यस्तो तथ्य उजागर गरेपछि उनको पक्ष र विपक्षमा बहस हुन थालेका छन् ।

पछिल्लो समय नायिका अश्लेषा ठकुरीको अन्तर्वार्ता आएपछि त्यसलाई शेयर गर्दै नायिका सुषमा कार्कीले पनि उनको पक्ष लिँदै लामो स्टाटस लेखेकी छन् । कार्कीले अश्लेषा ठकुरीको भनाइमा नेपाली फिल्म इण्डस्ट्रीको फोहरी कथा र एउटा पीडा लुकेको उल्लेख गरेकी छन् । उनले पनि आफ्नो क्षमतामा आफैलाई पत्यार नभएका मान्छेहरुले समूह बनाएको र त्यो समूहमा आफूभन्दा पनि निकम्मा र कमजोर पात्रलाई राख्दै लुकेर शिकार गर्ने, चरित्र हत्या गर्ने र इण्डस्ट्रीमा नयाँ मान्छे आएपछि त्यसलाई प्रतिष्पर्धीमात्र देख्ने घटिया सोच रहेको तथ्य उजागर गरेकी छन् । नायिका ठकुरीको अन्तर्वार्ताका कुराहरु नायिका पूजा शर्मातिर लक्ष्यित देखिन्छन् भने नायिका कार्कीको स्टाटस पनि उनीतिरै सोझिएको छ ।

नायिका कार्कीको स्टाटस जस्ताको तस्तै
नायिका अश्लेशा ठकुरीको भनाइभित्र एउटा पीडा र नेपाली फिल्म इण्डष्ट्रीको फोहरी कथा लुकेको छ । आफ्नो क्षमतामा आफैलाई पत्यार नभएका मान्छे समूह बनाउँछन् । समूह बनाउँदा आफूभन्दा कमजोर पात्र र निकम्मा मान्छे रोज्छन् । सिंहजस्तो आत्मबल हुँदैन, झुण्डमा बस्ने, लुकेर शिकार गर्ने, अरुको चरित्रहत्या गर्ने, नयाँ मान्छे आउँदा सबैलाई प्रतिस्पर्धी मात्र देख्ने घटिया मनस्थिति हुन्छ । यसरी पर्दा पछाडिबाट अरुको क्यारियर सिध्याउन खोज्नेहरु अन्तिममा गएर भित्ताको छिप्किलीसम्म बन्दछन् । यिनीहरु मालिक बन्न सक्दैनन् । सधैं दास बन्नेछन । केही दिन दुई चारवटा ल्यापटपे (मिडिया भन्न नमिल्ने) को प्रयोग गरेर लुकेर अरुलाई सिध्याउने मती भएका फिल्म इण्डष्ट्रीका बदनाम बेसारेले गर्ने नै यस्तै हो ।

तर एउटा महिला भएर, अर्को एकजना बहिनीलाई सिध्याउन अनेक कुकर्म गर्न भ्याउनेलाई के भन्ने ? यस्ता घुसघुसे, प्रतिभाहीन, स्तरहीन, दुईचार जनाको कारण भोलि कसैले आत्महत्या गर्यो भने कसले जवाफ दिने ? नेपालमा खासगरी नेपाली नायिकाहरुको चरित्र हत्या गर्न खोज्न,े उनीहरुको सामाजिक जीवन धमिल्याउन खोज्नेहरु स्तरहीन समाचार निकाल्नेहरु, आफूसँग कला नभएपछि अरुको खुट्टा तान्ने, बदनाम गर्नेहरु चिनिराख्नु पर्छ । कुनैबेला तिमीहरुलाई कानुनले समात्छ, नभए जनताले डामेर छोडनु पर्छ । लड्ने हिम्मत भएको मान्छे आफै शेरजस्तो गर्जिए हुन्छ । मुसाजस्तो लुकेर अरु नायिकाहरुको जुत्ता नटोकेको राम्रो । यस्ता पात्र र प्रवृत्तिलाई सबैले चिन्नुपर्छ, र हरेक अप्रिय घटनाको जवाफ माग्नु पर्छ ।


प्रतिक्रिया दिनुहोस्