नेकपाको स्थायी कमिटी बैठक सुरु

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : २६


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय गरिएको छ।

बैठकमा अमेरिकी आर्थिक सहयोग प्याकेज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सरकारको कामकारवाही र एसमसामयिक विषयमा छलफल हुने हुनेछ।

बैठक बस्नुअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच यसअघि स्थायी कमिटी बैठकका एजेन्डाबारे मंगलवार छलफल भएको थियो।

नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार सरकारको काम (कोभिड रोकथाम र उपचार तथा नेपालको सीमा समस्या समाधान र अन्य), पार्टी एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसिसी) र विविध कार्यसूची तय गरिएको छ। एमसिसीलाई अनुमोदन गराउने विषयमा सो पार्टीभित्र विवाद देखिँदै आएको छ ।

विवादित सम्झौता एमसिसीबारे नेकपाले निर्णय गर्न नसक्दा संसद्को कार्यसूचीमा एमसिसीले प्रवेश पाएको छैन।

गत वर्षको पुस पहिलो साता बसेको स्थायी कमिटी बैठक त्यसयता बस्न सकेको थिएन।

पटक पटक स्थगित हुँदै आएको बैठक आज बसेको हो।


प्रतिक्रिया दिनुहोस्