सन् २०२० को डिभी लोटरीमा छनौट भएकाले भिसा नपाउने

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : २७


काठमाडौँ । सन् २०२० का लागि डिभी लोटरीका लागि छनौट भएकाहरुले भिसा नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएसँगै डिभीमा छनौट भएकाहरुले भिसा नपाउने भएका हुन्।

कोरोना महामारीका कारण अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बर अन्त्यसम्म बनाइएको छ। २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय बढी नेपाली भिसाको प्रतिक्षामा थिए। उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम भएपनि डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले उनीहरुले भिसा नपाउने निश्चित भएको हो। सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ।

सन् २०२१ को डिभीका लागि छनौट भएकाहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने नियम रहेपनि आप्रवासन रोकका कारण भिसा कम्तीमा जनवरीसम्मका लागि स्थगित भएको छ। सन् २०२० को डिभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्ताका लागि मात्र कुरेकाहरुको सन्दर्भमा भिसा शुल्क के हुने भन्नेबारे भने खुलाइएको छैन्।

अप्रिल २३ मा ट्रम्पले आप्रवासनमा रोकको घोषणा गरेयता मे महिनामा विश्वभरबाट कोहीपनि डिभी लोटरी विजेताहरुलाई भिसा दिइएको छैन। यद्यपी मे महिनामा ६९७ जनाले आप्रवासी भिसा पाएपनि अधिकांश अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष उमेर नपुगेका छोराछोरीमात्र रहेका छन्।


प्रतिक्रिया दिनुहोस्