प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ४१


सुर्खेत । कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। अस्पताल प्रशासनका अनुसार क्वारेन्टिनमा बसेका ४२ जना स्वास्थ्यकर्मीको पिसिआर विधिबाट गरिएको परीक्षणबाट पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो ।

गत जेठ ३१ र ३२ गते आकस्मिक कक्षमा भर्ना भएका दैलेखका दुई र सुर्खेतका एक जना बिरामीमा कोरोना पोजेटिभ देखिएको थियो । ती बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टिनमा थिए । उनीहरुलाई हाल प्रदेश अस्पतालकै आइसोलेशन कक्षमा राखिएको छ ।

पोजेटिभ देखिएकामध्ये चार जना प्रयोगशाला तथा एक जना भने एक्स–रे कक्षमा कार्यरत हुन् । अस्पतालका निर्देशक खड्काले स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि केही घण्टा सिल गरिएको आकस्मिक सेवा भने हाल सञ्चालन भइसकेको बताउनुभयो । कर्णालीमा एकैपटक यति धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो ।


प्रतिक्रिया दिनुहोस्