रुदाने: एउटा सम्पूर्ण मान्छे

प्रकाशित मिति : असार ७, २०७७ आईतबार


रुदाने एक सम्पुर्ण जीवन बाँचेको मान्छे । नेपाली माटोमा जन्मेको एक दार्शनिक। विद्रोहको पर्याय । आफैमा एउटा आन्दोलन । एक सामाजिक अभियन्ता । कवि र साहित्यकार । खेलाडी र शिक्षक । छाप्रे जनताको राजनीति गर्ने राजनीतिकर्मी। आदि–इत्यादि । यी र यस्तै अनगिन्ती आयामहरुको संकलित स्वरुप हुन रुदाने । अनुसन्धानकर्ताको लागि रहस्यजस्तो।

आम मानिसको जीवनलीलासँग तुलना गर्दा पागल जस्तो । बेलाबेला सन्काहा जस्तो । अराजक जस्तो । तर हरेक सन्काहपनभित्र शिक्षा बोकेर, हरेक पागलपनाभित्र विद्रोह बोकेर, हरेक अराजकताभित्र सामाजिक रुपान्तरणको झिल्को बोकेर एउटा सम्पूर्ण जिन्दगी बाँचेका मान्छे हुन रुदाने। आफ्नो टाउको ठोक्किएका हरेक मान्छेलाई जीवनभर सम्झन सक्ने स्मरण छोडेर हिंडेको मान्छे।

कठिन छ रुदानेलाई शब्द, वाक्य र अनुच्छेदबाट अनुवाद गर्न। तर त्यो दुस्साहस कोही न कोहीले गर्नैपर्ने हुन्छ।

अनेक नाममा एउटा रुपचन्द्र

रुप, रुपे, स्वरुपे, रापसरु, जसरु रुदाने रुपचन्द्र विष्टले प्रयोग गर्ने नामहरु हुन । ‘रुप’ रुपचन्द्रको संक्षिप्त नाम थियो । रुपेचाहिँ रुपलाई ग्रामीण बोलीचालीमा बोलिने शब्द । स्वरुपेको अर्थ स्वतन्त्र रुपे भन्ने थियो भने रापसरु चाहिँ राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र भनिएको थियो । बढीजसो रुपचन्द्रले आफूलाई जसरु र रुदानेबाट व्यक्त गर्न चाहन्थे । जसरु राजनैतिक अभियानको क्रममा जनमुखी सहकर्मी रुपचन्द्र भनेर प्रयोग गरिएको थियो भने रुदाने चाहिँ रुपचन्द्र दामन नेपाल ।

विद्रोहको नेपाली नाम रुदाने

विद्रोहको फ्लेवर हरेक मान्छेमा मात्रात्मक त पक्कै हुने होला र त मान्छे, मान्छे बन्न सम्भव भएको हो । तर एउटा मान्छेको नशानशामा, रगतको बुँदबुँदमा हरेक धड्कनमा, हरेक नजरमा, हरेक पाइलामा, कलमका हरेक निवहरुमा विद्रोहै–विद्रोह हुन सम्भव छ भने त्यो रुदानेमा सम्भव थियो । जन्मेर सचेत पाइला चालेदेखि मृत्यु र मृत्युपछि आफ्नो लाशलाई पनि विद्रोेही बन्न बाध्य बनाए रुदानेले ।

आफैंसँग विद्रोह
राणाकालमा सम्पन्न सेना परिवारमा जन्मिएका रुपचन्द्रको जीवन भौतिक सुविधामै सयर गर्न सम्भव थियो । मीठोमसिनो खाना, आरामदायी ओछ्यान, महँगा पहिरन, आकाश छुनेजस्तो बंगला, बेगले कुदने सुविधा भएका सवारीसाधन उनका चुट्कीका विषय नै थिए । तर झुत्रे, झाम्रे, लुरे र त्यान्द्रेहरुको जागरण प्रिय लागेको रुपचन्द्रका निम्ति ती सबै वैयक्तिक विलासहरु मुल्यहिन भए । राष्ट्रिय पञ्चायतमा माननीय भएका बखत पनि बोराको लुगा लगाएर सुकुम्वासीको बस्ती बचाउन मन्त्रीको सातो लिन पुग्थे । महलको धनी भएर पनि छाप्रोको बास उनको अभ्यस्त विषय थियो । परिकारे खानाबाट उनको जिब्रो रमाउँदैनथ्यो । उनलाई त सबैभन्दा गरिबले खाने खाना स्वादिलो लाग्थ्यो । स्वादिष्ट खाना पचाएर, राम्रा लुगा फटाएर, घरवार–दरवार बनाएर बाँचेका मान्छे भन्दा बेठीक विरुद्धमा सहिद भएकाहरु ठुला हुन भन्थे उनी । र, आफ्नो आयुभरी क्रान्तिकारी उज्याला दिनेहरु सर्वोपरि हुन भन्दै उज्यालो बाल्नमै व्यस्त भए ।

भनिन्छ नि आफुलाई जित्ने मान्छेले संसार जित्छ । आफुलाई जित्न आफैसँग विद्रोह गर्नुपर्छ । आफ्ना लोभ, आफ्ना अहंकार र आफ्ना रहरहरुलाई रुदानेले आफैले झापड हानिरहे । आफैले आफैसँग विद्रोह गरिरहे ।

परिवारसँग विद्रोह

आठ वर्षका बालक बाउले आमालाई पिट्न खोज्दा बाउको हात समात्न जान्छ र घरबाट निस्कन्छ । सम्भ्रान्त सेनाको सामन्तवादी संस्कृतिसँग विद्रोह गरेको बालक फेरि कहिल्यै घर बस्नेगरी फर्केर आउँदैन । आक्कलझुक्कल आमाको मायाले घरमा जान्छ तर उसले विद्रोह नै रोज्छ । खासगरी सामन्तवादी संस्कृतिले गाँजेको पारिवारिक संरचनासँग रुदानेको जीवनभर विद्रोह नै भइरहन्छ ।

समाजसँग विद्रोह
विभेद, छुवाछुत, प्रेम, विवाह, रुढिवाद सबै संस्कृतिलाई हुर्काएको हुन्छ सामन्तवादी सामाजिक व्यवस्थाले । तर समाजले धर्म, परम्परा, कर्मकाण्डका नाममा बनाएका सारा बेठीक परम्परासँग रुदाने सम्बन्ध विच्छेद गर्छन् । पुसमा विहे गर्न हुँदैन भनिन्थ्यो तर उनी पुसमै विहे गर्छन । लिभिङ्ग टुगेदर त गाउँलाई मान्य थिएन तर गोपालीको घरमा प्रेमपछि उनी केही समय लिभिङ्ग टुगेदरमा बसिन्दिन्छन । बाहुन, भोज, बेद, ऋृचा केहि बाचन नगरी विहे गर्छन । दलितको घरमा खाना खाने, छुवाछुत विरोधी अभियान चलाउने, ब्राम्हणवादका विरुद्ध धावा बोल्ने । हरेक प्रकारका सामाजिक शोषणको खिलाफमा अबिच्छिन्न विद्रोह गर्थे रुदाने ।

सत्तासँग विद्रोह
पञ्चायती शासन हुँदा राजारानीलाई बक्सियोस भन्नुपर्थो । जन्मोत्सवमा शुभकामना लेख्नुपर्थ्यो । प्रधानमन्त्री र मन्त्रीहरुको चाकडी गर्नुपर्थ्यो। रुपचन्द्रको विद्रोहको शव्दकोषमा चाकडी र ज्यूहजुरी शब्दको खैरियत हुने कुरै भएन । राजाले पटक–पटक रोजेको मन्त्रालय लिएर मन्त्री बन्न सन्देश पठाउँथे । मलाई किन्न र बेच्न नआइज भनेर मुखभरिको जवाफ दिएर फर्काइदिन्थे । विदेशको राजदुतहरु आउँदा आफू बस्ने छाप्रोमै भेटस्थल हुन्थ्यो । नेपाली समाजको प्रतिबिम्व हो यो छाप्रो भनेर उनी विदेशी कुटनीतिज्ञहरुलाई समेत छक्क पार्थे । सत्ताले गर्ने त्रास र आशको राजनीतिले उनलाई कहिल्यै बहकाउन सकेन ।

कम्युनिष्ट पार्टीसँग विद्रोह
००८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका रुदानेले ०१७ सालको महेन्द्रको ‘कु’ पछि केशरजंगको उदयसँगै कम्युनिष्ट सदस्यता परित्याग गरे । माथि निर्णय गरेर पछि जनतामा लाद्ने संगठनको केन्द्रीयता उनलाई मन परेन । संगठन बनाउदै हिँड्ने होइन । जनता ब्युँझेपछि जनता आफैले संगठन बनाउन थाल्छन् भन्ने मान्यता राख्थे रुपचन्द्र । पिरामिड सांगठनिक संरचना र पार्टीभित्रको वरियताको विधिसँग उनलाई अरुचि थियो । जागरुक जनतालार्ई निर्णयको अधिकार दिइनुपर्छ भन्ने उनको मत थियो । तथापि कम्युनिष्ट पार्टी र पार्टीका नेताहरुसँग उनको सद्भाव भने सँधै कायमै रह्यो । उनको छलफल, सहकार्य र दैनिक उठबस कम्युनिष्ट नेताहरुसँगै हुन्थ्यो ।

आफ्नै आयूसँग विद्रोह
रुपचन्द्रको आयू त्यति छोटो पनि पक्कै थिएन । आजीवन निरंकुशताको विरुद्ध संघर्ष गरेका रुदानेलाई पञ्चायतकै मतियार भन्ने आरोप लगाउने संगठित प्रयत्न र जगाउन हिँडेका जनता जाग्न नमानेको निश्कर्षपछि रुदाने आफ्नो आयूसँगै आफै विद्रोह गर्छन् । मृत्युलाई नजिकाउन अनेक प्रयत्न गर्छन् । जागेका भनेका सहकर्मीहरु व्यक्तिगत लाभमा लागेपछि उनलाई फ्रष्टेशन शुरु हुन्छ । अनि बाँच्न सक्ने अवधि पनि बाँच्दैनन् । अर्थात् आफ्नै आयूसँग विद्रोह गर्छन् । शरीर भोकाउँछ र खाना माग्छ भने भोकै बसिदिन्छन । बोतलका बोतल रक्सी र चुरोट मिनेट नविराई पिइदिन्छन । झुण्डेर मर्‍यो भने कायर भन्लान भनेर उनी मन्दविषको अम्मली बनेर आफ्नो आयू ह्वात्तै घटाउँछन । सहकर्मीलाई दागबत्ती दिन आदेश गरिदिन्छन् र,शवयात्रा नगर्नु भनेर कासन पनि गर्छन् । संसारमा थोरै होलान् बाँच्न सक्दा पनि नबाँच्ने मान्छे । ती मध्ये एक रुदाने नै हुन ।

थाहा दर्शनको प्रणेता: रुदाने
दर्शन भनेको त्यस्तो मूल सत्ताको खोजी हो, जसको आधारमा सम्पूर्ण संसारको व्याख्या गर्न सकिन्छ । र दर्शनको लक्ष्य भनेको ‘मानव मुक्ति’ नै हो । मुक्ति भनेको बन्धनबाट मुक्ति । समस्याबाट सम्पूर्ण छुटकारा । दर्शनको ज्यामितीको कम्पास जति घुमाए पनि जानेर वा नजानेर मान्छेले प्रकट गर्ने विचार या कर्म दुईवटा दर्शनमै आधारित हुन्छ । एउटा अध्यात्मवाद र अर्को भौतिकवाद । २०५६ तिर रुदानेले एक सन्दर्भमा लेख्नुहुन्छ ।

निशाना एउटै !
“माओवादी दर्शन
शोषणरहित समाज
विकास गर्ने दर्शन हो
द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो ।
श्रमलाई प्रधानता दिने दृष्टिकोण हो ।
यहाँसम्म मेरो पनि उही हो।”

जीवनको उत्तरार्धमा अर्थात् मर्नुभन्दा केही महिनाअघि आफूलाई द्वन्द्वात्मक भौतिकवादी हुँ भनेर दावी गरे रुदानेले । मतलव छर्लङ्ग छ कि रुदाने मार्क्सवाद र त्यसको सार द्वन्द्वात्मक भौतिकवादलाई नेपाली मौलिकतामा प्रस्तुत गर्ने दार्शनिक हुन् । जसलाई उनले ‘थाहा’ दर्शनको स्वरुपमा समृद्ध या परिस्कृत गरे ।

रुदाने लेख्छन:
चारमाना माटोसँग
तेरो नाता प‍र्‍यो भनेर
माटाको भाडाले तँसित
दोस्तीसोस्ती ग‍र्‍यो भनेर
बसिस कैद गमलामा
सिङ्गै पृथ्वीलाई छोडेर ?

यो कविताले मानव स्वतन्त्रताको अनिवार्यताको बोध गराउँछ। अर्थात् ‘थाहा’ दर्शन, मानव स्वतन्त्रता र मुक्तिको दर्शन हो । ‘थाहा’ निस्पक्ष सक्रियताको अभ्यास गर्ने दर्शन हो । पक्षमा सक्रिय हुन या निष्पक्षमा निस्क्रिय हुन निकै सजिलो छ । तर निष्पक्ष हुनु भनेको सत्य र ठीकको पक्षमा सक्रिय हुनु हो । सत्य ज्ञानको नाम, ठीक कामको नाम, दुवैको संयोजन हो ‘थाहा’।

यसरी सत्य र ठीकको पक्ष लिएर सक्रिय भैरहने अभ्यासको अर्को नाम ‘थाहा’ हो । यहाँनिर मार्क्सले भनेझै दार्शनिकहरुले संसारको व्याख्या गरेका छन । तर मुख्य कुरा यसलाई बदल्नु हो भन्ने विषय जोडिन्छ । रुदाने दर्शनलाई धर्तीमा उमारेर हुर्काउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो ।

‘सत्य थाहा हुँदा झुट नास हुन्छ’
रुदानेकै भाषामा थाहा नभएमा पशु, थाहा बढी भएमा भगवान, थाहा विग्रेमा राक्षस र थाहा थोरै भएमा मान्छे । पाइलैपिच्छे भ्रम र थाहाको द्वन्द्व छ । भ्रम आफै उम्रन्छ झार झैं, थाहा बालीजस्तो खेती गर्नुपर्छ । थाहा दर्शनहरुको दर्शन हो । भएका र हुन बाँकी ज्ञात–अज्ञात र ज्ञेयअज्ञेय सबै अटाउने दर्शनको प्रकृति हो ‘थाहा’ । द्वन्द्ववादको गजवको प्रयोग यहाँनिर गर्न खोज्नु हुुन्छ रुदाने ।

कसरी पाइन्छ ‘थाहा’ ?

रुदाने कसैले ‘थाहा’ कसरी पाउने भनेर सोध्यो भने उसलाई चिमोटीदिन्थे र सोध्थे दुख्यो ? अनि दुख्यो भनेर भनेपछि चिमोट्दा दुख्छ नि थाहा पाइस भन्दै व्यङ्ग गर्थे । तेरो बाऊभन्दा पनि ठूलो, मेरो बाऊभन्दा पनि ठूलो, तेरो हजुरबाऊभन्दा पनि ठूलोे मेरो हजुरबाऊभन्दा पनि ठूलो सत्यको परिचय भ्रमको उल्टो थाहा भनेर आफ्नै शैलीमा सम्झाउने प्रयत्न पनि गर्थे।

थाहा दर्शनलाई अभ्यासले अनुभव, साधनाले अनुभुति र तपस्याले साक्षात्कार तहको ‘थाहा’ पाइन्छ भनेर तीनवटा खुड्किलोमार्फत साक्षात्कार तहको ‘थाहा’ प्राप्तिको विधि तय गरे रुदानेले। मानिसले प्रकृति र मानव सभ्यतासँग विचार व्यवहारको अभ्यास गर्दा उसले अनुभव नामको थाहा प्राप्त गर्छ । मानिसले प्रकृति र मानव सभ्यतासँग निरन्तर साधना गर्‍यो भने अनुभुति तहको थाहा पाउँछ । र मानिसले प्रकृति र मानवसभ्यतासँग आफ्नो जीवनलाई तपस्या नै गर्न लगायो भने उसले प्रकृतिको अन्तिम सत्यसँग साक्षात्कार नै गर्दछ अर्थात् साक्षात्कार तहको थाहा पाउँछ भन्ने मान्यता हो थाहा । यसरी सामान्य चिमोट्दा दुुख्छ भन्ने विषयदेखि निष्पक्ष सक्रियताको अभ्यास गरेर अभ्यासले अनुभव, साधनाले अनुभूति र तपस्याले साक्षात्कारसम्म पुगेर सत्य र ठीक अर्थात् ज्ञान र कर्मको सम्पूर्ण साक्षात्कार लिनु, हुनु र गर्नु थाहा दर्शनको श्रींखला हो।

थाहा आन्दोलन
रुदाने भन्नुहुन्थ्यो: मेरा या कसैका व्याख्या कण्ठ गरेर थाहा बुँझिदैन । सुनेर, पढेर, थाहा हुँदैन । थाहा अनुभूति हो । थाहा आन्दोलनले कसैलाई सम्झाउने–बुझाउने भन्दा पनि व्युझाउँने गर्नुपर्दछ । त्यसकारण जोसुकैले ‘थाहा’ लेख्नुहोस् । राम्रा अक्षर र रंगले ‘थाहा’ लेख्नुहोस् । आफ्नो सिरानीमा ‘थाहा’ लेख्नुहोस । भान्सामा थाहा लेख्नुहोस् । वाथरुममा, बिहेको जग्गेमा, मसानघाटमा ‘थाहा’ लेख्नुहोस् । भर्खर जन्मेको बच्चाको कोक्रोमा ‘थाहा’ लेख्नुहोस् । शरीरमा, ज्याकेटमा, चोलीमा, कुर्तामा ‘थाहा’ लेख्नुहोस्। राम्रो आवाजले ‘थाहा’ बोल्नुहोस् । गरिव र आइमाइलाई कर्तव्यको भाग धेरै, धनी र पुरुषलाई अधिकारको भाग धेरै यस्तो इन्साफको चिहानमा विकास हुन्न । त्यसको मुक्ति ‘थाहा’ आन्दोलन हो । कलिलाबाट विद्रोहकारी परिवर्तन हुन्छ । श्रमिकहरुबाट क्रान्तिकारी परिवर्तन हुन्छ । नारीबाट सामाजिक परिवर्तन हुन्छ । बुद्धिजीविबाट जीवनविषयी परिवर्तन हुन्छ । त्यसैले जम्मैले परिर्वतनका निम्ति ब्युँझिएर ‘थाहा’ आन्दोलनमा सामेल हुनुपर्छ।

हो, त्यतिबेला त्यही भयो । मकवानपुरका हरेक मानिसका सर्टमा ज्याकेटमा ‘थाहा’ लेखिएको हुन्थ्यो । हरेक घरका भित्तामा ‘थाहा’ लेखिएको हुन्थ्यो । मसानघाटमा, ढुङ्गामा, रुखमा, सडकमा, मोटरमा, भान्सामा, बुँईगलमा सबैतिर ‘थाहा’ लेखिन्थ्यो । ‘थाहा’कै वर्षा, भेल र बाढी बगिरहेको हुन्थ्यो।

सामान्यतया दार्शनिकहरु अक्षरमा रमाइरहेका हुन्छन । तर दर्शनलाई आन्दोलनमा परिणत गरेर डोको र छाप्रोमा, भरिया र उसको थाप्लोमा, हरेक मान्छेको हातको ठेलाठेलामा अनुवाद गर्न रुदाने सफल भए। मण्डलेहरु, पञ्चायती शासकहरु ‘थाहा’ आन्दोलनलाई घृणा गर्थे, मास्न खोज्थे तर भित्तामा लेखिएको ‘थाहा’ लुकेर सम्मपनि मेट्ने आँट गर्दैनथे !

‘थाहा’ वैधानिक आन्दोलन
तत्कालिन राष्ट्रिय पञ्चायतमा दुईपटक सदस्य हुँदा रुदानेले ‘थाहा’ आन्दोलनलाई सत्ताको नाकैमुनिबाट कलापूर्ण तरिकाले हुर्काउन सफल भए । कम्युनिस्टहरु भूमिगत भएको परिवेशमा राष्ट्रिय पञ्चायत सदस्य भएर ‘थाहा’ आन्दोलनको नाममा क्रान्ति र समाजवादको चट्याङ्ग गर्जाएर एक्लै हुल जस्तो, आफै आन्दोलन जस्तो भयो ‘थाहा’ आन्दोलन । ‘थाहा’देखि पञ्चायत तर्सन्थ्यो तर ‘थाहा’ मेट्न सक्दैनथ्यो । रुपचन्द्रलाई गिरफ्तार गर्दथ्यो तर ‘थाहा’ दावानल बनेर बलिरहन्थ्यो । हरेकले जम्मैको निम्ति, ‘सक्दो सबले पुग्दो सबलाई’ भनेर सिधासिधा समाजवादको वकालत गर्थे पञ्चायतभित्र रुदाने । तर पञ्चायतसँग टुलुटुलु हेर्नुको विकल्प थिएन ।

रुपचन्द्रको राजनैतिक आन्दोलन

कालिमाटीमा गाउँपञ्चायतमा जितेर विद्यार्थीकालमा विश्वविद्यालयको स्नातक उम्मेदवारदेखी कम्युनिस्ट पार्टीको सदस्य हुँदै गाउँ पञ्चायतको प्रधानपञ्च बने । दुईपटक राष्ट्रिय पञ्चायत सदस्य भएका रुदाने ०४६ पछि पनि हरेक निर्वाचनमा उम्मेद्वार बनिरहे । ०५६ मा मर्नुभन्दा केही महिनाअघि पनि निर्वाचन नै लडेर निरन्तर राजनैतिक कर्ममा लागिरहे ।

केटाकेटी बिग्रे बाबुआमा दोषी,
जनता विग्रे सरकार दोषी,
सरकार विग्रे व्यवस्था दोषी,
व्यवस्था विग्रे अगुवा दोषी
अनि यथार्थमुखी कर्तव्यमुखी बाहेक पछुवा, भगुवा, सारा दोषी

भन्दै सिङ्गै पञ्चायती व्यवस्थालाई गलत ठहर गरेर पञ्चायतविरोधी आन्दोलनको वैधानिक सतिसाल बने रुपचन्द्र। कलेजमा मण्डले विद्यार्थीसँग जुधेर, गाउँको सामन्तसँग गाउँपञ्चायतमा भिडेर, स्थानीय व्यापारीसँग विकासको लागि पौठेजोरी खेलेर, राष्ट्रिय पञ्चायतमा दरबार र पञ्चायतसँग सिधासिधा नाक जुधाएर मुकाविला गर्थे रुपचन्द्र। ‘जनमुखी वैज्ञानिक गाउँ पञ्चायत र दलगत स्वतन्त्रता’ रुपचन्द्रको नारा थियो पञ्चायतमा । अपराधीले पुलिसलाई शाषण ग‍र्‍यो, अपराधी र पुलिस मिलेर जनताको प्रतिनिधिलाई शाषण ग‍र्‍यो अनि अपराधी, पुलिस र प्रतिनिधि मिलेर मतदाता अर्थात् जनतालाई शाषण गरे । यसलाई ३६० डिग्रीमा नै उल्टाउनुपर्छ । मतदाताले प्रतिनिधिलाई, प्रतिनिधिले प्रहरीलाई, प्रहरीले अपराधीलाई अनि अपराधीले सुध्रिनलाई स्वतन्त्रता भएको संविधान बनाउनुपर्छ । यही थियो रुपचन्द्रको पञ्चायतकालिन वैधानिक आन्दोलनको लक्ष्य।

‘निर्दल निर्दयी, बहुदल बहुला’
‘दलगत स्वतन्त्रता हरेकलाई चाहिन्छ’ ०४६ को पूर्वसन्ध्यामा रुपचन्द्रको एक वाक्यको नारा यही थियो।

निर्वाचनमा न्याय जनताले गर्ने, राजनीतिमा सेवा प्रतिनिधिले गर्ने,

सेवा नगर्ने प्रतिनिधि जनताले बदल्ने,

हो यस्तो मतदातातन्त्र चाहिन्छ भन्नुहुन्थ्यो रुदाने । निर्दल अर्थात् पञ्चायतले जनतालाई दलगत स्वतन्त्रता दिएन र मतदातातन्त्र स्थापित हुन सकेन । त्यसैले बहुदलले दलगत स्वतन्त्रता दिन्छ र मतदातातन्त्र स्थापित गर्न सकिन्छ । तर, निर्दलीय पञ्चायती व्यवस्था निर्दयी छ, क्रुर छ र बहुदलचाहिँ बहुला व्यवस्था हो । निर्दयी भन्दा बहुला एक कदम प्रगतिशील हुन्छ । अपितु बहुदलीय व्यवस्थामा अराजकता, बेथिति आइलाग्छ । हामी फेरि समाजवादीतन्त्रमा जानुपर्छ । त्यसो गर्दा व्यवस्था निर्दलीय र राजनीति बहुदलीय हुने अभ्यास गर्नुपर्छ । दल र पदमा एक छोड्नेतिर जानुपर्छ । दलमा पनि बस्ने पदमा पनि बस्ने भयो भने जनताको असली प्रतिनिधि बन्न सम्भव हुन्न । रुदानेको राजनैतिक कार्यदिशा यही थियो।

एमाले फटाहा, काँग्रेस दलाल
०४६–०५१ सम्म कांग्रेस, एमाले र राप्रपा तीनवटा दलहरु सतहमा आए सहकर्मीहरुको दल डिमाण्ड पूरा गर्न मकवानपुरमा नेकपा (जनमुखी) भन्ने पार्टी खोलियो । ०४८ मा प्रचण्ड, निर्मल लामाहरुसहितको नेकपा एकता(केन्द्र) बन्दा नेकपा(जनमुखी) त्यही एकता प्रक्रियाको हिस्सेदार बन्यो । रुपचन्द्रचाहिँ पार्टीमा सामेल भएनन तर अन्तिमसम्म तत्कालिन एकताकेन्द्र र माओवादीलाई नैतिक समर्थन र सहयोग गरिरहे । लामो भाषा, ठेली, किताव र दस्ताबेज लेखनमा चाख नदेखाएका रुदानेले त्यतिबेला दलहरुका बारेमा जम्मा दुईवटा पर्चा र वाक्यमा क्षेप्यास्त्र प्रहार गरेका छन ।

पहिलो,
राजनैतिक पार्टी राप्रपा होइन,
काँग्रेसी जनमत बेकार सिद्ध भो,
बहुदलीय कम्युनिस्ट खास ठग हो,
जनमुखी राजनीति उपाय हो ।
यहाँ बहुदलीय कम्युनिस्ट भनेर तत्कालिन एमालेलाई इंगित गरिएको छ ।

दोस्रो,
जनअधिकारका शत्रुहरुको नाम
‘प्रजातन्त्र’ पार्टी,
विदेशी दलालहरुको नाम ‘नेपाली’ काँग्रेस,
निकृष्ट फटाहहरुको नाम ‘कम्युनिस्ट’ एमाले ।

(फट्याइँ त यिनका नामैबाट शुरु हुन्छ राम्रा त्यहाँ अल्पमत)

यसरी प्रष्टढंगबाट राप्रपालाई जनअधिकारको शत्रु र गैरराजनीतिक पार्टी, पूर्व पञ्चेहरुको बहुदलीय अवतार हो भनिएको छ । काँग्रेसलाई विदेशी दलाल, आफ्नै बहुमत पचाउन नसक्ने पार्टी भनिएको छ । र, एमालेलाई कम्युनिस्ट नाम राखेर फट्याइँ गर्ने निकृष्ट फटाह र ठग भनिएको छ । त्यहाँभित्र केही राम्राहरु निकै अल्पमतमा छन भनिएको छ । यद्यपि ती दलका कैयौ व्यक्तिहरुको आदर्श स्वयं रुदाने हुनुहुन्थ्यो । र रुदानेलाई आफ्नो दलअनुकूल परिभाषित गर्न अहिले पनि प्रयत्न गरिरहेकै छन । तर, दलसम्बन्धी रुदानेको धारणा घाम जत्तिकै छर्लङ्ग थियो ।

‘सरकारमा बदमास, प्रतिपक्षमा बदमास’
काँग्रेस र एमाले आलोपालो सरकारमा हुन्थ्यो । ०४६ पछि निजीकरण, व्यापारीकरण र भ्रष्टाचार झन तीव्र हुँदै गयो । माओवादीहरुले जनयुद्ध शुरु गरे । दरवार र पूर्व पञ्चहरुको पार्टी राप्रपा बहुदल पनि घाटमा आउँछ कि भनेर कुरेर बसिरहेको थियो । केही कम्युनिस्ट दलहरु संसद र सडकमा जनपक्षीय आन्दोलनमा थिए । त्यतिबेला रुदाने शारीरिक रुपमा निकै अशक्त पनि भैसक्नुभएको थियो । तर, माओवादी आन्दोलनलाई समर्थन गर्दै दुइवटा पर्चा प्रकाशित भए ।

एउटा माओवादीलाई दमन गर्ने काँग्रेस र एमालेको रवैयाको विरुद्धमा सरकारलाई सर्वाधिक नकच्चरो भनेर अर्को माओवादीको र मेरो निशाना एउटै हो भनेर । ठीक त्यहिबेला अर्थात् ०५६ मा निर्वाचन आयो । सरकार र प्रतिपक्षमा आलोपालो गरिरहेका काँग्रेस र एमाले दुबै बदमास भैगए । अनि रुदाने भन्नुहुन्थ्यो, बदमासहरु सरकार भए, बदमासैहरु प्रतिपक्ष बन्ने भए । दुवै बदल्ने महाजनमुखी अभियान आवश्यक भयो । मृत्युको तीन महिनाअघि निर्वाचनमा ७२ भोट पाएर बदमास भएको सरकार र प्रतिपक्ष फेर्ने महाजनमुखी अभियानको आवश्यकता उजागर गरेर मृत्युवरण गरे रुदानेले । अन्तिम श्वाससम्म राजनैतिक अभ्यासमार्फत राजनैतिक कार्यदिशा कोर्दै, राजनैतिक कार्यनीतिमा हिँड्दै गरेका रुदानेलाई मृत्युले छोपिहाल्यो ।

राजनैतिक आँखाबाट रुदानेलाई हेर्दा रुदाने जनतासँग आँलिगन भएको राजनीतिको पक्षमा निरन्तर अन्तिमसम्म देखिए । जनतातिर फर्किएर राजनीति गर्ने अर्को कला बेजोड नै थियो रुदानेको । जसलाई उनले जनमुखी राजनीति भन्ने गर्थे । अझ वैधानिक र खुला राजनीतिचाहिँ उनको रुचि र निपुणको विषय नै थियो । एउटा क्रान्तिकारी मान्छे, मार्क्सवाद, र द्वन्द्वात्मक भौतिकवाद मान्ने मान्छे, हाकाहाकी पञ्चायतमा प्रधानपञ्च र राष्ट्रिय पञ्चायत सदस्य भएर क्रान्तिकारी चट्याङ छर्न सक्ने कला रुदानेको सिक्नैपर्ने विषय हो । विज्ञान र कलाको अन्तरघुलनको योग रुदाने हुन भन्दा नै उचित होला ।

कवि र साहित्यकार रुदाने

रुदाने मुख्यतः दार्शनिक हुन् । अनि राजनीतिकर्मी । दर्शन र राजनीति नै रुपचन्द्रको सार हो । तर एउटा स्कुले विद्यार्थीले कल्पना गर्ने जस्तो जीवनका थुप्रै आयामहरुमा पोख्त भएका थिए रुदाने । आफ्नो दर्शन र राजनीतिलाई कविता र साहित्यमार्फत विस्फोट गराउँथे उनी । उनका सिर्जनाहरुलाई रुप पक्षबाट हेर्दा उनी कवि मात्रै हुन भन्न पनि सकिएला । किनकी आफ्ना हरेक दर्शन, विचार, सिद्धान्त, राजनीति, कार्यनीति उनले कवितात्मक शैलीमा लेखिएको पर्चामार्फत नै व्यक्त गर्थे । नेपाली साहित्यिक शब्दकोषमा केही शब्दहरु थप्ने कामसमेत गरे उनले । कवितामा विद्रोह, क्रान्ति यति सुन्दर र कलापूर्ण तरिकाले कोर्न सफल भए कि उनका कवितात्मक पर्चाहरु सबैले कण्ठ पार्थे, गुनगुनाउथे, भाषणमा भन्थे । त्यो कला उनका निम्ति यसकारण पनि जरुरी थियो कि पञ्चायतमा सबै विषय सिधासिधा बोल्न कानुनी अड्चन थियो । पछि उनको त्यो मौलिक शैली बन्यो, साहित्य बन्यो । कला र कविता बन्यो ।

रुपचन्द्रका सिर्जनालाई साहित्य र कविताको कोणबाट कसरी हेर्न सकिएला ? त्यो त समालोचक या कविहरुको वर्कतको विषय होला । तर दर्शन, राजनीति, भावना, विद्रोहको कलात्मक अन्तरघुलन गर्ने एकजना सर्जक हुन भन्न भने मथिङ्गलले धेरै कसरत गर्नु नपर्ला ।

शिक्षक र शिक्षाविद रुदाने

रुपचन्द्र विष्ट २०२९-३० मा केही वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत हुनुभो । अर्थात् शिक्षक पनि । तर उनी शिक्षक र शिक्षणमा मात्रै सीमित भने भएनन् । विहानी पाठशाला भनेर गरिव र आइमाईलाई साक्षर बनाउने अभियान चलाउनुभयो । जबकि सिङ्गै सरकार लाग्दा पनि देश अझै साक्षर हुन सकेको छैन । कसैले आफ्नो घरको महिलालाई पढाउन पठाएन भने ‘आइमाई नपढाउने मुर्दावाद’भन्ने नाराले त्यो पुरुषको कान पकाउथ्यो । विद्यालयका विद्यार्थीलाई उत्पादनसँग जोड्न विकास खेत र विकास बारीमा काम गर्न लगाइन्थ्यो । पञ्चायती पाठ्यक्रमले पञ्चायती भजनमण्डली बनाउँछ भनेर इतिहास र राजनीतिको अलग कक्षा चलाइन्थ्यो । शिक्षा र श्रमसँगको सम्बन्धलाई व्यवहारिक प्रयोग गर्न लगाउँथे रुदाने । ‘श्रीमान् गम्भीर’ भन्ने राष्ट्रिय गान व्यक्तिस्तुतिमा आधारित छ भनेर मकवानपुरका १०० भन्दा बढी विद्यालयमा ‘मानिस न्यायी प्राणी भन्ने सावित गर्छौं काममा’ भन्ने अलग राष्ट्रिय गान गाउन थालियो ।

आफ्नो विवाहको सम्पूर्ण खर्च कटौती गरेर पुस्तकालयमा पुस्तक किन्ने घोषणा गरेर नवजागृत पुस्तकालय बनाए रुदानेले । त्यतिबेला उत्पादन कृषि प्रणालीमा आधारित थियो । अन्न, तरकारी बालीको अनुसन्धान, पशु र घाँसको अनुसन्धान गरेर नमुना खेती र पशुपालनको अभ्यास गरे उनले । अझ रोचक कुरा त रुपचन्द्र अध्ययनमा निकै रुचि राख्थे । दिनभरी हिमाल र पहाड रातभरी आकाशपुञ्जको अध्ययन सिमभञ्ज्याङ्गको जंगल, दामनको भ्यूटावर रुपचन्द्रको दैनिकी हुन्थ्यो । यसरी दर्शन, राजनीति, साहित्य, गणित, कृषि, खगोलमा गहिरो पोख्तता हासिल गरेर शिक्षक र शिक्षाविद दुवै बने रुदाने ।

आत्मनिर्भर अर्थप्रणालीका शिल्पी: रुपचन्द्र

समाज या देशको मुख्य मेरुदण्ड अर्थप्रणाली हो । रुपचन्द्रको भाषामा राजनीति गिदी हो भने मुटु अर्थतन्त्र । अर्थात् गिदी मात्रै भएर मुटुबिना जसरी मान्छे चल्न सक्दैन त्यस्तै राजनीति मात्रै भएर अर्थनीति नहुँदा देश र समाज चल्न सक्दैन । कृषिमा आधारित उत्पादन प्रणाली भएका बेला सिङ्गै समुदायलाई उत्पादन प्रणालीमा सहभागी बनाएर आत्मनिर्भर बन्न सकिन्छ भन्ने नमूना दामन–पालुङबाट देशलाई पेश गरे रुदानेले । नेपालकै सबैभन्दा ठूलो विकास घर जनश्रमदानबाट निर्माण गरे । अहिले संघीयता आएपछि विकेन्द्रीकरणको नामबाट सरकारले स्थानीय तहलाई केही रकम बिनियोजन गर्न थालेको छ । तर रुपचन्द्रले ०२२ पछि नै दामन–पालुङमा उत्पादन भएको कृषि उत्पादनमा व्यापारीहरुलाई स्थानीय करको प्रावधान अघि सारे । सिडिओले कार्वाहीको पुर्जी पठाए । तर ३१ काँटावाल र सिडिओ अनि अञ्चलाधिसको केही लागेन । अन्तत स्थानीय करप्रणाली लागू भएरै छोड्यो । अहिले त त्यो देशव्यापी नै बनेको छ।

‘रुक्नु छैन झुक्नु छैन बढ्छौं विकास बाटोमा, उत्पादनका साधन साथै पार्छौं हामी मालामाल ।’ यस्ता हुन्थे रुदानेका आत्मनिर्भर अर्थप्रणालीका नाराहरु । जहाँ सिङ्गै उत्पादन प्रणालीमा जनताको सहभागिताको नारा हुन्थ्यो र व्यवहारिक कार्यान्वयन पनि ।

खेलाडी र हिमाल आरोही: रुपचन्द्र

रुदाने जस्तो बहुआयामिक व्यक्तिले खेल क्षेत्रलाई नछुने कुरै भएन । पहाडमा भलिबल सबै तन्नेरीहरुको मितेरी विषय नै हुन्थ्यो । रुदाने आफै पनि अग्लो कदका थिए । त्यसमा पनि शारीरिक सुगठन उनको शौख । केही थान मान्छेहरुले भौतिक आक्रमण गर्ने आँट नै गर्न नसक्ने रुपचन्द्र कुस्तीमा पनि निपुण थिए । पुलिसले समात्न खोज्दा नारायणीमा हाम फालिदिएका बनेका रुदाने पौडीमा त झनै पोख्त थिए । चेसचाहिँ बुढेसकालको मेसो बन्यो उनको । वस्ती छोडेपछि आउँने गोठ, गोठ छोडेपछी आउने हिमालको बारेमा उनले लेखेको एउटा कविता र केही अनुसन्धानले रुपचन्द्र हिमाल चढेको पनि पुष्टि हुन्छ ।

अनेक भाषामा जानकार: रुपचन्द्र

नेपाली भाषा रुदानेको मातृभाषा भैहाल्यो । अंग्रेजीमा त दक्ष नै थिए । हिन्दी, भोजपुरी त उनलाई सहज लाग्ने भाषा नै थियो । तामाङहरुसँग तामाङ भाषामा, नेवारहरुसँग नेवारी भाषामा, चेपाङसँग चेपाङ भाषा मै उनी बोल्न सक्थे । भाषण गर्थे र सँगसँगै उनी काम समेत गर्दथे । जुनै जातिको बस्तीमा गए पनि उनी आफन्तजस्तै भैहाल्थे । भाषाका कारण पनि । मान्छेसँग तीव्र अन्तरघुलनको एउटा बेजोड विधि भाषा पनि रहेछ । जसले रुदानेलाई छिट्टै धेरै समुदायका आत्मीय पनि बनायो ।

आफ्नै शैली आफ्नै मौलिकता

रुपचन्द्र विष्टका बारेमा अनेक कथाहरु बनेका छन् । मिथकहरु बनेका छन् । चुट्किलाहरु बनेका छन् । अकवर, वीरवलको जस्तो किम्वदन्ती पनि बनेको छ । तीमध्ये कैयौ सत्य छन् भने कैयौ चाहिँ मनगढन्ते पनि छन् । मान्छे देखेपछि गोदिहाल्छ, गाली गरिहाल्छ आदि इत्यादि । जे होस् मनगढन्ते आरोपमा बनावटी विषयलाई छोडेर रुपचन्द्रले गर्ने व्यवहारलाई हामी आफ्नो मौलिक शैली भन्न सक्छौ।

रुदानेको कमजोर पक्ष

ब्युँझेका मान्छेले आफै संगठन बनाउँछन भन्नू तार्किक कुरा नै हो । तर विचार पछि परिवर्तनको दोस्रो हतियार संगठन हो । रुदानेको पहिलो कमजोरी आफ्नो विचारलाई संगठनको आकारमा ढाल्न नसक्नु नै हो । जसले गर्दा झुट प्रचार गरेर केही संगठित जत्थाले उनको बदनामी गर्ने काम समेत गरे । र संगठनकै अभावमा उनको मृत्युपछि विचारको श्रृंखला पनि अड्कियो ।

दोश्रो, रुदाने प्रेम र परिवारप्रति उत्तरदायी हुन सकेनन । श्रीमतीसँग औपचारिक पारपाचुके पनि भएन । र औपचारिक सम्बन्ध पनि रहेन । खास अलग्गिनुपर्ने कुनै कारण देखिन्न । त्यसमा रुदानेकै कमजोरी ज्यादा देखिन्छ । रुदाने असल मान्छे त हुनसके, तर उत्तरदायी अभिभावक चाहिँ भएनन ।

तेस्रो, उनमा बेलाबेला अराजकताका केही झिल्काहरु झल्किन्छन । आफ्नो ब्यक्तिगत शौख, सुर या मनोदशाका कारण कतिपय अवस्थामा सिङ्गै अभियान अल्झिएर बस्छ । जस्तो ०३१ पछि ०३५ सम्म, ०४८ देखि ०५१ सम्म, ०५२ देखि ०५५ सम्म रुदाने निष्क्रिय हुन्छन अनि थाहा आन्दोलन पनि । यो निकै गम्भीर कुरा हो ।

चौथो, उनको ‘तँ’, ‘भाते’जस्ता शब्द प्रयोग गर्ने शैली कहीँ न कहीँ मान्छेलाई विझ्ने शैली नै हो । विरोधीलाई प्रभावकारी प्रहार भएपनि मित्रहरु घोचिनु पनि सही होइन ।

रुदानेको हत्या कस्ले ग‍र्‍यो ?

रुपचन्द्रबारे अनेक मिथक बनेका छन्, अनेक किम्वदन्ती बनेका छन् । रुपचन्द्र को हो ? के हो ? कस्तो मान्छे हो ? के गर्थ्यो ? के गर्थेन ? आदि इत्यादि । यी सबै विषयको बहस शृंखला कायम नै छ । तर, उनको मृत्युको पृष्ठभूमिबारे निकै कम परिचर्चा भएको छ।

एउटा दार्शनिक, एउटा राजनीतिज्ञ, एउटा साहित्यकार, एउटा कवि, एउटा खेलाडी, एउटा प्रेमी, एउटा शिक्षाविद्, एउटा खगोलअध्येता, एउटा हिमाल आरोही यी सबै उपमाले पनि रुपचन्द्रलाई न्याय गर्न सक्दैनथ्यो । तर, त्यतिबेलाको समयको घेराबाट उनले गर्न भ्याउने जीवन कर्म लगभग गरेकै थिए।

त्यसैले त उनलाई विचारको खानी, विद्रोहको नेपाली नाम, ऊर्जाका पर्याय र गतिशीलताको दौँतरी भन्न सकिन्थ्यो । तर, के वैज्ञानिक चेतनाले सम्पूर्ण रुपमा लैस मान्छे, क्रान्ति र विद्रोहको शिल्पकारको मृत्यु कथा त्यति दयनीय हुन सम्भव छ ? एउटा क्रान्तिकारी मान्छेले मृत्युलाई सत्यको रुपमा स्वीकार गर्न सक्छ तर के मृत्युलाई छिट्टै आइज भनेर निम्तोपत्र दिन सक्छ ? तर, रुपचन्द्र विष्टको सन्दर्भमा त्यही भयो।

विरामी भएर ढलेपछि रुपचन्द्रलाई निजी अस्पताल लैजाने कोसिस भयो । वीर अस्पताल नै रुपचन्द्रको रोजाइ बन्यो । र, त्यहीँ उनको मृत्यु पनि भयो । यो त उनको जीवन नामको जिनिससँग गजवको विद्रोह नै थियो।

मृत्युपछि पनि शवयात्रा नगर्नू भनेर मर्दामर्दै विद्रोहको अर्को अस्त्र उनले हानेकै थिए । तर, वीर अस्पतालमा मृत्युको निम्ति छिर्नुभन्दा निकै पहिलेदेखि नै उनले आफैंले मृत्यु छिट्टै ल्याउने हर्कत गरिसकेका थिए।

प्रशस्त भोक लागेको बेला बोतलका बोतल रक्सी पिइदिने, निद्रा लागेको बेला सुत्दै नसुत्ने, चाङका चाङ चुरोट डढेलो जस्तै सल्काउँदै तानिरहने र शरीरमा कुनै रोग देखिएमा उपचारमा नगर्ने । उनले यस्तै हर्कत गर्दै आएका थिए । अर्थात् मृत्युलाई झट्टै आइज भन्दै बोलाइरहेका थिए । रक्सीभट्टी उनको दैनिकी थियो । आफ्नै शरीरलाई लगातार यातना दिने प्रवृत्ति बनेको थियो।

केही व्याख्याकार यस्ता हर्कतलाई शुन्यवादको शब्दले सजाउँछन् र रुपचन्द्रलाई पनि शुन्यवादी भन्न थाल्छन । मर्नुभन्दा ३–४ महिना अघिसम्म चुनाव लडेर राजनीतिक कर्म गरिरहेको मान्छे शुन्यवादी त हुन सक्दैनथ्यो नै । तर, रुपचन्द्रलाई उनकै भाषामा आफ्नै एक ढ्याक शरीरसँग निकै नफरत थियो । त्यही नफरत नै रुपचन्द्रको अघोषित आत्महत्याको कारण थियो । आफ्नो शरीरसँगको रुपचन्द्रको मोहभंग भने निकै कारुणिक पृष्ठभूमिबाट सुरू भएको थियो।

रुपचन्द्रको हत्यारा रुपचन्द्र विष्ट नै थिए
मेडिकल भाषामा रुपचन्द्रको मृत्यु रोगले भएको भन्न सकिन्छ । कोही कुनै कारणले मर्ने हर्कत गर्छ भने आफैंले आफैंलाई गरेको हत्या हुन जान्छ । आत्महत्या पनि आफूद्वारा आफैंलाई गरिएको हत्या हो । हो, रुदानेले त्यसै गरे।

मार्क्सवादले हरेक वस्तुको विकास या विनासमा प्रायः आन्तरिक कारण मुख्य हुन्छ भन्छ । यस अर्थमा रुदाने पनि अपवाद थिएनन् । हो, छाप्रे जगाउने काममा उनी सम्पूर्ण रूपमा सफल पक्कै भएनन् । मान्छेभित्रको मान्छे जाग्दै जागेन।

सहकर्मीबाट उनले दरिलो साथ पाएनन् । विरोधीको भ्रमलाई चिर्ने सामर्थ्य उनमा भएन । स्वतन्त्रता, समानता र क्रान्तिको उनको सपना उनले कोरेको रेखाबाट हिँंडेन या उनले हिँडाउन सकेनन । तर, यसको मतलव एक विद्रोही दार्शनिकले जीवनको इहलीला आफैं समाप्त पार्नुहुन्थेन । यस मानेमा रुदानेको हत्यारा मूलतः रुपचन्द्र विष्ट आफैं हुन् ।

माले मकवानपुरले मा‍र्‍यो रुदानेलाई
मकवानपुरको वामपन्थी विरासत रुदानेकै थियो । २०४६ पछि दलीय व्यवस्था सुरु भएपछि दलहरुका निम्ति रुदाने टाउको दुखाइ भए । किनकि, रुदानेको भाषामा कांग्रेस विदेशी दलाल थियो । माले निकृष्ट फटाहा थियो र राप्रपा जनअधिकारको शत्रु । त्यसपछि रुदानेको समाप्तिमा आफ्नो भविष्य देख्न थाल्यो तत्कालीन माले मकवनपुरले । अनि त पार्टीको जिल्ला कमिटीको बैठक नै बसेर रुपचन्द्रलाई पञ्चायतको मतियार भनेर प्रचार गर्ने निर्णय गरे।

प्रचारमा रुपचन्द्रले हत्केलामा हुर्काएर पछि माले बनेका महासयहरु नै अघि सरे । रुपचन्द्रलाई हरियो घाँसमा लुकेको हरियो सर्प बनाए उनीहरुले । जनता पनि यिनै निकृष्टको भ्रममा घुलन भए । यो रुपचन्द्रको राजनीतिक हत्याको घिनलाग्दो कारण थियो । र, रुपचन्द्रको जीवनप्रतिको मोहभंगको वस्तुगत कारण ।

रुपचन्द्रको हत्यारा सहकर्मी पनि
एकातिर दल र सत्ता राजनीतिको चास्नीले रुदानेका सहकर्मीहरुलाई पनि आकर्षित नै ग‍र्‍यो भने अर्कोतिर रुदानेको कठोर संघर्षको यात्रा उनीहरु सहन नसक्ने भए। अनि जसरुकै भाषाको एक थाल भात र एक अंगालो स्वास्नीको सिकार भए सहकर्मी । निर्वाचन र खासखास राजनीतिक घटनामा हाजिरी जनाउने अनि अघिपछि गयल हुन थाले । आफूलाई उत्तराधिकारी भन्नेहरु नै विरामी हुँदासम्म दुई मुठी फलफूल लिएर रुदानेकहाँ गएनन् । रुदाने कहाँ छन् ? के गर्दै छ्न् ? विरामी छन कि ? केही चासो राखेनन् उनीहरुले । यतिसम्म कि मर्ने हालतमा पुग्दा पनि रुदानेलाई अस्पताल पु‍र्‍याउने मान्छे न उनको कोही सहकर्मी थियो न उत्तराधिकारी न त परिवारका कोही सदस्य नै।

कमल थापाहरु इमान्दार दुस्मन
बलियो दुस्मन रुपचन्द्रको रहरको विषय पनि थियो। सिंगै पञ्चायत र त्यसका पक्षपातीहरुलाई उनी मण्डले भन्थे । उनले आफ्नो जीवनमा भोगेको मुख्य दुस्मन शक्ति पञ्चायत थियो। र त्यसको प्रत्यक्ष प्रतिनिधि कमल थापा थिए।

रुदानेलाई दुस्मनले के–के गर्न सक्छ, सजिलै थाहा हुन्थ्यो र त दुस्मनका जेलनेल, अनेक हर्कतमा सजिलै जीत हासिल गर्थे । दुई दुईपटक राष्ट्रिय पञ्चायतमा जितेर त्यही पञ्चायतको अन्त्यका लागि वैधानिक संघर्ष गर्ने कला कोहीमा थियो भने त्यो रुदानेमै थियो । कम्युनिस्ट पार्टीहरु त पूर्ण भूमिगत थिए । त्यही भएर कमल थापाहरुले रुदानेलाई कहिल्यै जित्न सकेनन् । तर, इमानदार दुस्मनको भूमिका भने निभाए । किनकि, थाहा नदिई रुपचन्द्रलाई मार्न उनीहरु लागिपरेनन् । बरु मित्र बनेकाहरुले मारिछाडे ।

अझै मारिँदैछ रुपचन्द्रलाई
अहिले पनि थरीथरीका हत्याराहरु छन रुदानेका । बाँचुन्जेल रुदानेसँग दुस्मनी गर्नेहरु रुदानेलाई देवता नै बनाएर तारिफ गर्छन् । यो पनि मरिसकेको रुपचन्द्रको हत्या नै हो । रुपचन्द्र द्वन्द्वात्मक भौतिकवाद मान्ने मार्क्सवादी मान्छे हुन् । तर, उनलाई बेलाबेला पागल बनाइन्छ, धर्मगुरु भनाइन्छ र अनेक उपमा दिँदै मारिन्छ । उनका उत्तराधिकारी भन्नेहरुले ‘थाहा’ दर्शन र ‘थाहा’ दर्शनको सार निष्पक्ष सक्रियताको अभ्यासलाई एउटा कर्पोरेटको बेचिखाने लोगो बनाइरहेका छन् । त्यो पनि रुदानेको कुनै नाम नराखेर । नाफाका लागि बाआमा पनि बेच्न तयार पुँजीवादमा यो नैतिक विषय नै होला तर यो पनि रुपचन्द्रलाई हत्या गर्ने विषय नै हो । अझ रुपचन्द्रले निकृष्ट भनेको पार्टीको कार्यकर्ताहरु रुपचन्द्रकै उत्तराधिकारी बनिरहेका छन्, त्यो पनि रुपचन्द्रकै राजनीति गरिरहेको छु भनेर । यो त झन् डरलाग्दो हत्या प्रयत्न हो, मृतक रुपचन्द्रको । अझ कर्मकाण्डी श्राद्ध गरेर ‘थाहा’ दर्शन र रुदानेको कपिराइट लिने निर्लज्ज काम पनि उनको एक प्रकारको हत्या नै हो।

यद्यपि, रुदाने, ‘थाहा’ दर्शन र जनमुखी राजनीतिलाई त्यही नाममा या अर्कै नाममा इमान्दारपूर्वक जोखाइराख्ने जमात पनि छ यही माटोमा । आशा गरौं, जिउँदा रुदानेले भन्थे– सत्य थाहा हुँदा झुट नाश हुन्छ । चिहानबाट एकदिन अजंगका रुपचन्द्रहरु जुरुक्क उठेर आउँनेछन्।

अनि रुपचन्द्रकै अन्तिम राजनीतिक भाषामा बदमास सरकार र बदमास प्रतिपक्ष फेर्ने महाजनमुखी अभियानलाई सफल बनाउनेछन् । विद्रोह र क्रान्तिको नयाँ यात्रा तय हुनेछ अनि रुपचन्द्रहरुका हत्यारा र जनताका बैरीलाई मसानघाट प्रिय लाग्न थाल्नेछ।

(लेखक पूर्व विद्यार्थी नेता तथा वैज्ञानिक समाजबादी नेता हुनुुहुन्छ)


प्रतिक्रिया दिनुहोस्