रक्सी पिउँने बाँदरलाई जन्मकैद !

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : ५५


काठमाडाैं । रक्सी पिउँने बाँदरलाई भारतमा जन्मकैद सजाय दिइएको छ । भारतको कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्ने भएको छ ।

कालुवा नामको यस बाँदर मिर्जापुर जिल्लाको रैथाने हो । उसले मिर्जापुरमा टोकेका २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए र उनले निरन्तर आफूसँगै बाँदरलाई पनि रक्सी खुवाउँथे ।

बिस्तारै कालुवा पनि जड्याहा भयो । जब ती जड्याहा मालिक बिते, त्यसपछि रक्सी नपाएर कालुवा आक्रामक भयो । उसले जथाभावी टोक्न थाल्यो र मिर्जापुरमा आतंक फैलायो । त्यसपछि कालुवालाई पक्रनका लागि बन र चिडियाघरको टोली बोलाइयो ।

ठूलो प्रयासपछि कालुवालाई पक्राउ गरेर कानपुर चिडियाघरमा राखिएको समाचारमा जनाइएको छ । ‘हामीले पहिले उसलाई केही महिनासम्म आइसोलेसनमा राख्यौं र अहिले अलग खोरमा कैद गरेका छौं । उसको व्यवहारमा कुनै परिवर्तन देखिएको छैन र ऊ पहिलेजस्तै आक्रामक छ ।

हामीले उसलाई यहाँ ल्याएको तीन वर्ष भइसकेको छ र अब जीवनभर यहीँ राख्ने निर्णय गरेका छौं,’ चिडियाघरका डाक्टर मोहद नसिरले भने । नसिरका अनुसार कालुवा ६ वर्ष भयो र यदी उसलाई स्वतन्त्र छाडियो भने उसले जहाँ भेट्यो त्यही मानिसलाई आक्रमण गर्छ ।


प्रतिक्रिया दिनुहोस्