प्रश्नहरुभित्र आत्महत्या

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ११ : १३


आइतबार एक भारतीय कलाकारले आत्महत्या गरेर संसारबाट बिदा भए। उनलाई र उनको कला मन मराउनेहरुले सहानुभूति प्रकट गर्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका पोस्टहरु धेरै आए। जसमध्ये सामाजिक सञ्जालमा श्रद्धाञ्जली पोस्ट्याउनेमा म पनि एक थिए।

कसैले त्यस्तो सबैथोक भएको मान्छेले किन आत्महत्या गरेको होला ? भन्ने प्रश्न गर्दै श्रद्धाञ्जली दिए। कोहीको भाव विचरा भन्ने खालको थियो। केहीले कायरता हद भयो भने र कोही राष्ट्रवादीले भारतीय मर्दा सहानुभुती प्रकट गरेकोमा खेद व्यक्त गरे। जे होस् मान्छे पिच्छे फरक फरक किसिमको श्रद्धाञ्जली देख्न पाइयो।

यहाँ सवाल मान्छे कहाँको म-यो भन्दा पनि को म-या र के कारणले म-या भन्ने विषयले बढी चासो पाएको हुनुपर्छ। यस सँगसँगै कुन जमातले रुचाइएको मान्छे थियो भन्ने कुराले गर्दा अलि बढी नै चासो दिएको हो की जस्तो देखिन्छ। यहाँ तपाई वा मैले आत्महत्या गरेको भए कस्लाई पत्तो हुने थियो र ? आफ्ना औँलामा गनिने करिबी मान्छेलाई आँखा छलिन्थ्यो अथवा सकेसम्म आत्महत्या होइन भनेर समाजका अगाडि लुकाउन प्रयास गरिन्थ्यो। कसलाई मतलब तपाईँ वा म मरेको ? समाजलाई थाहै भएपनि अनुसन्धान गर्नु पर्ने बाध्यता भए पनि तपाईँ वा मलाई दुई चार प्रश्नहरुको घेराभित्र अनुसन्धान गरिन्थ्यो सायद ।

केही आर्थिक कारण थियो की ? घर परिवार वा कुनैबाट तनाव थियो की ? कुनै अनैतिक सम्बन्ध वा प्रेम सम्बन्ध कारण थियो की ? अथवा जीन्दगीमा कुनै गर्न नसकेको फ्रस्टेसन थियो की ? सायद यस्तै यस्तै केही प्रश्न हुने थिए होला । तर यहाँ दाम, नाम, सान, फ्रेम, प्रेम सबै थोक भएको एउटा लक्का जवान कलाकारले आत्महत्या गरेको छ । जसले आत्महत्या सबैकुरा समाधान हैन भन्ने पाठ दिने फिल्ममा अधिनय गरेको थियो र उ आफैले त्यो कुरा लागू गरेन्। उसले बुझेर संसार बदल्नु भन्दा पहिले आफू बदलिनु पर्छ । हामीलाई बुझाएर उ सुटुक्क आफ्नो बाटो लागेकोले बढी चासो पाएको हुनुपर्छ।

मैले एक पटक आफ्नो छातिमा हात राखेर आफैलाई प्रश्न गरे। मलाई के कुरामा खुशी मिल्छ ? नाम कमाउला, दाम कमाउला, सानले हिँडौला । अरे के त्यत्तिमा निहित छ र मेरो खुशी ? के आफूमात्र खुशी हुँदा मान्छेले आत्महत्या गर्दैन् ? आफूभित्र प्रश्नको ज्वाला बढ्दै जाँदा आडैमा बसेर चिया पिइरहेकी खुट्टा र हात पटपट फुटेकी आमाको अनुहार हेर्छु।

अनि खुशी के मा मिल्छ अनुमान लगाउन खोज्छु। मेरै अगाडि रहेका आँखामा चस्माको पावरको सहारा लिदै अनुहारको मुजा प्रष्ट देखिने साठी पुग्नै लागेका मेरा बुवालाई हेर्छु अनि अनि उत्तर खोज्न केही राहत मिलेजस्तो अनुधुति गर्छु। फेरि मेरो दिमागको कोइस्चनब्याङकको पाना पल्टाउँछु। खै के खोज्दैछ मान्छे ? किन रोज्दैछ आत्महत्याको बाटो ? जीन्दगी जिउनमा थप उर्जा दाम र नामले थप्छ पक्कै । तर यतिले पनि नपुग्ने रैछ नी त, हैन ? आत्महत्या चाही सबै थोकको समाधान हो र ? जाबो यो एक मुठ्ठी सास फुस्स जाँदा सबै कुरा ठिक भयो त , केही सेकेण्ड र केही मिनेटको निर्णयले मुट्ठी फुक्यो र सकियो, सबै स्वाहा… ?

किन यति कायर र अपराधि भयौँ हामी ? आफैमाथि आफैलाई मारेर ? मान्छेहरु यहाँ बाच्न पाउनुपर्छ भनेर लडिरहेका छन् रातदिन । उसले भने बाँच्न पाउनु पर्ने अधिकार छ र बाँच्नु पर्छ भन्ने ठान्दैन भने उसका लागि अरु कसले ठानिदिने ? दुनियाँ र रमिता हेरेर बसेको छ। तिमी कति बेला चुक्यौँ र तिम्रो जिना हराम गरौँ भनेर । चुक्दै नचुके पनि खाल्डो खनी रहेका छन् तिमीलाई पार्न र पुर्न । संसार यस्तै छ। स्वार्थी छ नी र संसार हैन ?

एक पटक जन्मदिने बा आमालाई सम्झेनौँ ? उनीहरुले कहाँ गल्ती गरे तिमी छोरा हुनुमा ? साच्चै तिमी क्रुर, अपराधि र कायर रहेछौँ। मैले तिमीलाई यही प्रश्न गरेर मात्र आफूलाई पूर्णविराम लगाउन चाहिन। मेरा शब्नहरु फिर्ता लिदै आफैसँग प्रश्न गर्न बाध्य भए । तिमी कायर र अपराधि कसरी भयौ ? त्यसो भए त यहाँ मृगौला फेल, क्यान्सर र हृदयघात जस्ता रोग लागेर ज्यान गुमाउनेलाई धर्तीका बोझ थिए जसले आफ्नो जीवब सन्तुलित रुपमा बाँच्न जानेनन् भनेर भन्नु पर्ने हुन्छ। मैले वा रोग लाग्यो अनि मरे, राम्रै भयो भनेर पनि भन्नु पर्ने हुन्छ। हृदयघात र आत्महत्या के फरक छ ? यी र अरु जुनसुकै रोग लाग्ने व्यक्ति पनि आफै रहरले मरेका हुन् भन्नु पर्ने हुन्छ मैले हैन र ? हैन भने मानसिक रोगको उपज आत्महत्यालाई मैले कायरताको उपनाम कसरी दिन मिल्छु ? मानसिक असन्तुलन जोक हैन नी ? जीवन जिउने आँट गरेन भनेर कसी भनौँ, आत्महत्या गर्न सानो आँटले पुग्छ र ? यो हर कोहीले लिन सक्ने आँट हो र ? तपाई आफै भन्नुस न तपाई जिउने आँट गर्नु हुन्छ की मर्ने वा आत्महत्या गर्ने आँट गर्नुहुन्छ ? हामी गर्नदेखि कति डराउँछौँ हामीलाई थाहा छ नी ।

रहर र खुशी खुशी आत्महत्या गरेको उदाहरण छ कही कतै संसारमा ? यति गन्थन आफैसँग गरेपछि आखिर यो गिदी भन्ने जिनिस छ नि त्यसले कति खेर के गर्ने खटाृँछ अत्तोपत्तो नहुने रहेछ। तपाईँ माया र खुसीबीचमा हुनुहुन्५ भने पनि तपाईको त्यो खोपडीले अह्राय पछि त पछि हट्ने गुन्जायस नै रैन छ नी । आत्महत्या त मानसिक असन्तुलनको उपज रहेछ, जसरी शारिरीक असन्तुलनले अरु रोग निम्त्याउँछ। तपाईलाई एक्कसाी रुघा लागे जस्तै हैन र यो पनि ? चाहे कारण धुवाँ, धुलो, ठन्डा वा मौसम परिवर्तनले होस्। कितबेला असन्तुलन हुन्छ थाहा नहुने रैछ, चाहे त्यो डाइबेटिज जस्तो वार्षको असन्तुलन होस् वा रुघाको जस्तो लणिक समयको होस्। असन्तुलन त असन्तुलन नै हो नी हैन र? हामी कसैको मृत्युको बारेमा फैसला गरिरहेका छौँ । यसको मृत्युलाई हैन यसको कामको मूल्यांकन गरौँ । यसले बाँचेर जिन्दगी पनि कति असन्तुलित ढंगले बाच्यो होला , सोचौँ त एकपटक । उ पनि एउटा रोगी थियो तपाई र म जस्तै ।

बस् उसले गरेको आँट हामीले गरेको आँट भन्दा बिपरित थियो। विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने वार्षीक रुपमा संसारभरी करिब ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन्। जसमा आर्थिक रुपमा कमजोर हुनु प्रमुख कारण रहेको पाइएको छ। त्यस बाहेक मानसिक तनाब, असहायता र एक्लोपनका कारण आत्महत्या गरेको तथ्यांक पनि प्रसस्त छन्। आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषहरुको संख्या दोब्बर बढी छ।

उ आज त्यही संख्या भित्र पर्न गयो। तर आर्थिक रुसमा कमजोर हुने भित्र परेन पक्कै । सायद अरु नै कुनै जटिल कारणहरु थिए। रोगले समय र परिस्थितीसँगै आफ्नै लक्षण परिवर्तन गर्दै जाने तथ्य पछिल्लो मेडिकल रिर्पोटले देखाएको छ। कोरोनालाई नै हेरौँ न, यसले दिनानुदिन समय र परिस्थिती अनुरुप आफ्ना लक्षणहरु परिवर्तन गर्दै गएको देखिएको छ। ठिक त्यसरी नै मानसिक असन्तुलनका लक्षण र कारणहरु पनि परिवर्तिन हुँदै जाँदा हुन नि त । यस्तो अवस्थामा हामी मानसिक जटिलतालाई पनि अझ बढी ब्यापकताका साथ बुझ्न र बुझाउन जरुरी छ। यसरी पब्लिक फिगरले यस्तो खालको मृत्यु रोज्दा सामाजिक रुपमा कदापी सकारात्मक म्यासेज जाँदैन्। तर यस्तै कठोर परिस्थितीले नै हामीलाई पाठ सिक्न, सिकाउन अनि छलफल गर्न भने पक्कै झक्झकाउँछ। आत्महत्या जुनसुकै परिस्थितीको समाधान हैन भन्ने बुझ्न, बुझाउन पहल र कोसिस हामी सबैबाट हुनु जरुरी छ। हैन भने यसले भयानक सामाजिक संकट निम्त्याउने खतरा देखिन्छ।


प्रतिक्रिया दिनुहोस्