सुशान्त सिंह राजपूतको मृत्युबारे टिप्पणी गर्दा मुकेश भट्ट विवादमा

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ३८


काठमाडौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर फिल्म निर्माता मुकेश भट्टले गरेको एक टिप्पणी विवादमा आएको छ।

उक्त टिप्पणीबारे केन्द्रीय मन्त्री बाबुल सुप्रियोले आक्रोश व्यक्त गरेका छन्। भट्टले आइतबार एक टेलिभिजन न्यूज च्यानल टाइम्स नाउसँगको अन्तरवार्तामा सुशान्तले पहिले नै आत्महत्या गर्न सक्ने आशंका रहेको बताएका थिए। उनले कार्यक्रममा सुशान्तलाई ‘बेचैन आत्मा’ पनि भने।

भट्टले सुशान्तको आत्महत्यालाई लिएर आफू आश्चर्यचकित नभएको बताउँदै यसबारे आफूलाई पहिले नै आशंका रहेको जिकिर गरेका छन्। राजपूतमाथि गरेको उक्त टिप्पणीपछि भट्ट विवादमा तानिएका हुन्।

मुम्बईको बान्द्रास्थित एक्लै बस्दै आएका राजपुत आइतबार झुण्डिएको अवस्थामा फेला परेका थिए।

बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुतले ३४ वर्षको कलिलै उमेर संसार छाडेका हुन। उनी बलिउडका चर्चित कलाकार मानिन्छन्।

के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुले पनि उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले आमिर खानको ‘पिके’ ‘एमएस धोनी’, ‘काइपे चे’, ‘केदारनाथ’ लगायतका सिनेमाहरूमा अभिनय गरेका छन्। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।


प्रतिक्रिया दिनुहोस्