सुशान्त सिंहको मृत्युबारे कंगना भन्छिन्, ‘बलिउडले अनुचित व्यवहार गर्यो, उनी कमजोर थिएनन्’

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ४३


काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको कलिलै उमेरमा भएको निधनले धेरैलाई स्तब्ध पारेको छ। यसबाट उनको परिवार र प्रशंसकहरु निकै दुःखी छन्।

दिवंगत अभिनेता सिंहको सोमबार मुम्बईको विले पार्ले स्थित सेवा समाज श्मशान घाटमा अन्तिम संस्कार गरिएको छ।

अन्त्येष्टि कार्यक्रममा, सुशान्तका पिता आफन्त, श्रद्धा कपुर, रिया चक्रवर्ती लगायतका कलाकार पनि सहभागी थिए।

अभिनेता सुशान्त आइतबार मुम्बईको बान्द्रा स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनले किन आत्महत्या गरे भन्नेबारे केही खुल्न सकेको छैन।

सुशान्तको निधनले बलिउड क्षेत्रमा शोक छाएको छ। कलाकारहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।

बलिउडकी चर्चित कंगना रनौतले सुशान्तको मृत्युबारे सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै बलिउडले उनलाई अनुचित व्यवहार गरेको बताएकी छन्।

कमजोर व्यक्तिले मात्रै आत्महत्याको बाटो रोज्ने भन्दै धेरै मानिसहरुले गरिरहेको टिप्पणी प्रति कंगना भन्छिन्, ‘इन्जिनियरिंगमा रैंक होल्डर उनको दिमाग कसरी कमजोर हुनसक्छ?”

भिडियोमा कंगनाले ,‘के सुशान्तले आत्महत्या गरेका थिए अथवा उनको योजनाबद्ध हत्या हो?’ भन्दै प्रश्न समेत उठाएकी छिन्।

मानिसहरुले सुशान्तलाई बेकम्मा भनेको र त्यसलाई सुशान्तले स्वीकार गर्नु गल्ती भएको उनको भनाइ रहेको छ।

कंगनाले भिडियोमा भनेकी छन्, ‘सुशान्तको डेब्यु चलचित्र काइ पो चेलाई किन स्वीकार गरिएन? उनीमाथि लागूपदार्थ दुव्र्यसनीमा फसेको आरोप लाग्दा पत्रकारले त्यसको खेदो खने तर सन्जय दत्तको लागूपदार्थ सेवनलाई उनीहरु राम्रो ठान्छन्।’


प्रतिक्रिया दिनुहोस्