दक्षिण कोरियामाथि किम जोङकी बहिनी आक्रोशित, सैन्य कारबाहीको धम्की

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ३१


काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङ दक्षिण कोरियाविरुद्ध आक्रोशित बनेकी छिन्। मंगलबार दक्षिण कोरियासँग सबै प्रकारले सम्पर्क बन्द गर्ने घोषणा गरेको उत्तर कोरियाले अब सैन्य कारबाहीको धम्की दिएको हो।

पछिल्लो समय यी दुई देशबीच तनाव उत्पन्न भएको छ।

जोङले उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको सैनिक कारबाही गर्ने चेतावनी दिएकी हुन्।

किमले सर्वोच्च नेता, पार्टी र सरकारबाट आफूलाई मिलेको अधिकार प्रयोग गर्दै सेनालाई कारबाही गर्न भनेको उल्लेख गरेकी छिन्। सैन्य कारबाहीबारे यसपछि सेना प्रमुखले फैसला लिने उनले बताइन्।

७ जुनदेखि उत्तर कोरियामा दक्षिण कोरियाली सीमाबाट पर्चासहितका ५ लाख बेलुन छाडिएको छ। यस पर्चामा उत्तर कोरियाका तर्फबाट हुने परमाणु हमलाको आलोचना गरिएको थियो। उत्तर कोरियाले यसबारे धेरैपटक आपत्ति जनाइसकेको छ ।

यता, दक्षिण कोरियाले पनि पर्चा फाल्नेहरुविरुद्ध कारबाही गरिने र यो क्रम बन्द हुने जनाएको थियो । तर, बेलुन पठाउने काम अझै रोकिएको छैन।


प्रतिक्रिया दिनुहोस्